सिड्नी। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्म खर्च गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय बाल अधिकार परिषद् (एनसीआरसी) सँग भएको समझदारीअनुसार फाउन्डेसनले १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म सहयोग गर्ने भएको हो।
फाउन्डेसनले बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य उपचारलगायतका आवश्यकतामा सहयोग गर्ने जनाएको छ।
एमआईटी ग्रुपका अध्यक्ष डा. शेष घले र उहाँकी पत्नी जमुना गुरुङले बाढी प्रभावित बालबालिका र उनीहरूका परिवारले भोगेको पीडाबाट आफूहरू गहिरो रूपमा प्रभावित भएको बताएका छन्। उनीहरूले तत्कालको कठिन अवस्थामा मात्र नभई आगामी वर्षहरूमा समेत बालबालिकाको शिक्षा निरन्तरता, आधारभूत आवश्यकता र भविष्यका लागि साथ दिने प्रतिबद्धता जनाएका छन्।
विपत्तिका कारण उनीहरूको शिक्षा र भविष्यका अवसर प्रभावित हुन नदिन सहयोगलाई कक्षा १२ सम्म निरन्तरता दिने योजना बनाइएको फाउन्डेसनले जनाएको छ। घलेले प्रभावित बालबालिकालाई दीर्घकालीन सहयोग आवश्यक रहेको बताए ।
अस्ट्रेलियाको व्यवसायिक क्षेत्रमा समेत परिचित घले दम्पती अस्ट्रेलियाका प्रमुख धनाढ्यको सूचीमा परेका थिए। २०२६ को प्रकाशित विवरणअनुसार शेष घले र जमुना गुरुङ क्रमशः १५०औँ र १५१औँ स्थानमा छन्। उनीहरूको संयुक्त सम्पत्ति करिब १.२१ अर्ब अस्ट्रेलियन डलर रहेको विवरण सार्वजनिक भएको छ।
एमआईटी ग्रुप फाउन्डेसनले शिक्षा र स्वास्थ्यसँगै विपद् राहत, पुनर्निर्माण, समुदाय विकास, उद्यमशीलता र सामाजिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ। भोटेकोशीका बालबालिकाका लागि गरिएको सहयोगलाई फाउन्डेसनले तत्कालीन राहतमा सीमित नराखी दीर्घकालीन कार्यक्रमका रूपमा अघि बढाएको जनाएको छ।
फाउन्डेसनले बाढी प्रभावित बालबालिकाको शिक्षा नरोकिने र आधारभूत आवश्यकता पूरा हुने वातावरण बनाउन सहयोग गर्ने जनाएको छ।