नेभिगेशन
अन्य

रसुवा–भोटेकोशी बाढीपीडितलाई वचन न्युजको राहत

रसुवा–भोटेकोशी बाढीपीडित परिवारलाई वचन न्युजले स्थानिय तहमै गएर राहत वितरण गरेको छ ।  वचन न्युजका पत्रकार ओमकृष्ण श्रेष्ठ र सीमा ठकुरीको नेतृत्वमा संगीत श्रेष्ठ, उमा धिताल र राजन श्रेष्ठको सक्रियतामा राहत बितरण गरिएको हो। वचन न्युजले यसअघि रसुवामै पुगेर दुई चरणमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिसकेको जनाएको छ।पीडित परिवारका सदस्य विनोद लामाले बाढीपछि धेरै परिवार सुरक्षित बास, खाद्यान्न र आधारभूत राहतको अभावमा कष्टकर जीवन बिताइरहेको बताए। उनले सानो तिब्बत बजार क्षेत्रमा पर्याप्त सरकारी राहत नपुगेको गुनासो समेत गरे ।

तारकेश्वर नगरपालिका–११ का वडाध्यक्ष कबिराज बस्नेतले विपद्का बेला पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताए। “वचन न्युजले समाचारसँगै सेवाको अभियान सञ्चालन गरेर पीडित परिवारसम्म सहयोग पुर्‍याएको छ। यस्ता मानवीय कार्यमा हाम्रो साथ र सहयोग निरन्तर रहनेछ,” उनले भने।

रसुवाका युवा समाजसेवी सुरेश अधिकारीले बाढीपीडितको दुःखमा साथ दिन सञ्चालन गरिएको राहत अभियान प्रशंसनीय रहेको बताए। तत्काल आवश्यक सामग्रीसँगै पीडित परिवारको दीर्घकालीन पुनःस्थापनामा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।

पत्रकार सीमा ठकुरीले विपद्मा परेका नागरिकको साथमा उभिन राहत अभियानलाई निरन्तरता दिइने बताइन्। “हामी तपाईंहरूको साथमै छौँ भन्ने अनुभूति पीडित परिवारलाई दिलाउनु नै हाम्रो प्रयास हो,” उनले भनिन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्