मेलबर्न । काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्राको रौनक यसपटक अस्ट्रेलियाको मेलबर्नमा पनि देखिने भएको छ। नेवा गुथी भिक्टोरियाको आयोजनामा आगामी शनिबार, सेप्टेम्बर २६ मा अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (नेपाली मन्दिर) परिसरमा दोस्रोपटक इन्द्रजात्रा आयोजना हुँदैछ।
गत वर्षदेखि सुरु भएको जात्रालाई यसपटक थप आकर्षक बनाउने तयारी गरिएको छ। आयोजकका अनुसार कुमारीको रथसँगै गणेशको रथसमेत निर्माण गरी तानिनेछ। नेपालबाहिर नेपाली परम्पराअनुसार प्रत्यक्ष रथ तानेर इन्द्रजात्रा मनाउने क्रमलाई मेलबर्नमा निरन्तरता दिइँदैछ।
जात्राको तयारीका लागि नेवा गुथीले महिनौंदेखि पुलुकिसी नाच, धिमे बाजालगायतका परम्परागत प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमको अभ्यास गरिरहेको छ। भविष्यमा पनि जात्रालाई निरन्तरता दिने उद्देश्यले रथ निर्माण गरिएको नेवा गुथी भिक्टोरिया अध्यक्ष माया प्रसाद सुवालले बताए ।
उनले भने - इन्द्रजात्राले नेपाली समुदायलाई आफ्नो संस्कृति र परम्परासँग जोड्नुका साथै अन्य समुदायलाई पनि नेपालको सांस्कृतिक सम्पदासँग परिचित गराउने अवसर दिन्छ । सुवालले नेपाली–अस्ट्रेलियाली समुदायबीचको सांस्कृतिक सम्बन्ध अझ बलियो बनाउने विश्वास लिएका छन् ।
जात्राको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेवा गुथी भिक्टोरियाका सल्लाहकार राजन मास्केले इन्द्रजात्राको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गरे। अस्ट्रेलियाको बहुसांस्कृतिक परिवेशमा नेपालको विशिष्ट सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उनले बताए।
सामुदायिक अगुवा पियुश कायस्थले रथ निर्माणदेखि जात्रा सञ्चालनसम्म स्थानीय कानुनी तथा सुरक्षा मापदण्डलाई ध्यान दिनुपर्ने बताए। भिक्टोरियाका लागि पूर्वनेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले मेलबर्नमा नेपालको महत्वपूर्ण सांस्कृतिक परम्परालाई निरन्तरता दिन नेवा गुथीले गरेको प्रयासको प्रशंसा गरे।
एनआरएनए भिक्टोरियाका संयोजक महादेव धानुकले नेपाली समुदायको सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए। बालचौतारीका अध्यक्ष राजीव वाग्ले, मेलबर्न नेप्लिज कम्युनिटी वेस्टका अध्यक्ष विक्रम शर्मा पंगेनी तथा सामुदायिक अगुवा शंकर धरेललगायतले अस्ट्रेलियामा हुर्किरहेको दोस्रो पुस्तालाई नेपाली संस्कृति र परम्परासँग जोड्न इन्द्रजात्राजस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण हुने बताए।
इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’ काठमाडौं उपत्यकाको प्राचीन सांस्कृतिक पर्व हो। नेवार समुदायसँग विशेष सम्बन्ध रहेको यस पर्वमा कुमारी, गणेश र भैरवको रथयात्रासँगै पुलुकिसी नाच, धिमे बाजा, परम्परागत संगीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति हुने गर्छन्।
मेलबर्नमा आयोजना हुने जात्राले नेपाली समुदायलाई आफ्नो सांस्कृतिक सम्पदा नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसरका रूपमा पनि आयोजकले लिएको छ। साथै, नेपालको मौलिक संस्कृति र परम्परालाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमाझ परिचित गराउने अपेक्षा गरिएको छ।
जात्रास्थल नेपाली मन्दिर परिसरमा बालबालिकाका लागि विभिन्न गतिविधि, नेपाली परिकारका स्टल तथा सांगीतिक प्रस्तुतिसमेत राखिने आयोजकले जनाएको छ। दिनभर चल्ने कार्यक्रमले मेलबर्नमा नेपालको परम्परागत इन्द्रजात्राको झल्को दिने अपेक्षा गरिएको छ।