नेभिगेशन
साउथ अष्ट्रेलिया

एडिलेडमा नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा, पहिलोपटक प्रिमियर प्रमुख अतिथि बन्दै 

नोभेम्बर २८ मा आयोजना हुने महोत्सवमा १५ हजारभन्दा बढी दर्शक जुट्ने अपेक्षा, रचना रिमालको सांगीतिक प्रस्तुतिसमेत रहने

एडिलेड । अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली कला, संस्कृति र पहिचानलाई स्थापित गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करण यस वर्ष विशेष बन्ने भएको छ। आगामी नोभेम्बर २८ मा एडिलेडको टोरेन्स परेड ग्राउन्डमा हुने महोत्सवमा साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकस पहिलोपटक प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।01c984cc-4257-44c9-bec9-48b85c822bdd-1793500705.jpeg

नेपाली समुदायको सांस्कृतिक उपस्थिति, सामाजिक योगदान र अस्ट्रेलियाको बहुसांस्कृतिक संरचनामा नेपालीहरूको भूमिकालाई थप उजागर गर्ने लक्ष्यसहित आयोजना हुन लागेको फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

यसपटक राज्य सरकारको उच्च तहबाट प्राप्त सहभागितालाई नेपाली समुदायले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। कार्यक्रममा प्रिमियर मालिनाउसकससँगै बहुसांस्कृतिक मामिलामन्त्री नादिया क्लान्सी, स्थानीय सरकारका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक थिर गुरुङले जानकारी दिए।

गुरुङका अनुसार साउथ अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक अनुदान कार्यक्रमअन्तर्गत महोत्सवका लागि ३० हजार अस्ट्रेलियन डलर प्राप्त भएको छ। फेस्टिभल आयोजना गर्न एक लाख ७० हजार डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। अहिलेसम्म करिब ९० प्रतिशत तयारी पूरा भएको र यस वर्ष १५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको उनले बताए।

महोत्सवमा नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका रचना रिमालको विशेष प्रस्तुति रहनेछ। नेपाली गीत–संगीतसँगै विभिन्न सांस्कृतिक झाँकी, नृत्य तथा मौलिक प्रस्तुतिमार्फत नेपालको विविधता र सांस्कृतिक सम्पदा प्रदर्शन गरिने आयोजकको तयारी छ। अन्य कलाकार तथा कार्यक्रमको विस्तृत विवरण पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ।

दर्शकको उल्लेख्य सहभागिता हुने अपेक्षासँगै कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउन आयोजकले व्यवस्थापकीय तयारीलाई पनि तीव्रता दिएको छ। महोत्सव सञ्चालनका लागि २० वटा उपसमिति गठन गरी विभिन्न जिम्मेवारी बाँडफाँट गरिएको छ।a2012644-e623-4b2f-b421-ba26fd674baf-1793500733.jpeg

एनआरएनए साउथ अस्ट्रेलियाका उपसंयोजक तथा नेपाल फेस्टिभल २०२६ का कार्यक्रम संयोजक गणेश पराजुलीले मञ्च व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, कार्यक्रम सञ्चालन तथा समन्वयका कामलाई प्राथमिकतामा राखेर तयारी भइरहेको बताए।

उनका अनुसार महोत्सवलाई सफल बनाउन नेपाली संघसंस्था, व्यवसायी, प्रायोजक र समुदायका सदस्यहरूसँग सहकार्य भइरहेको छ। सबै पक्षको सहभागिता र सहयोगबाट कार्यक्रमलाई व्यवस्थित तथा स्मरणीय बनाउने लक्ष्य आयोजकले राखेको छ।

अस्ट्रेलियामा जन्मेहुर्केका नेपाली नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र मौलिक परम्परासँग परिचित गराउनुका साथै अन्य समुदायमाझ नेपालको पहिचान स्थापित गर्ने साझा मञ्चका रूपमा नेपाल फेस्टिभललाई लिइँदै आएको छ। यस्ता कार्यक्रमले नेपाली समुदाय र अस्ट्रेलियाली समाजबीच सांस्कृतिक सम्बन्ध तथा आपसी समझदारी विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
आयोजकले साउथ अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यवसायी तथा नेपाली कला र संस्कृतिप्रति रुचि राख्ने अस्ट्रेलियाली र अन्य समुदायलाई नोभेम्बर २८ मा टोरेन्स परेड ग्राउन्डमा उपस्थित भई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्