मेलबर्न । अष्ट्रेलियाको सांस्कृतिक नगरी मेलबर्नमा यही सेप्टेम्बर ६, २०२५ (शनिबार) का दिन ऐतिहासिक ‘इन्द्र जात्रा – येँया पुनि २०२५’ भव्य रुपमा आयोजना हुने भएको छ। नेवा गुठी मेलबर्नको आयोजनामा हुने ईन्द्र जात्रा Australian Nepalese Multicultural Centre मा ( 100 Duncans Lane, Diggers Rest VIC ३४२७) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
नेपालबाहिर पहिलोपटक पूर्ण खुला रूपमा आयोजना हुन लागेको यस पर्वले नेपाली मौलिक संस्कृति, सम्पदा र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
नेपालकै झल्को दिने भव्य तयारी गरिएको यस ऐतिहासिक कार्यक्रममा नेवार समुदायका साथै सम्पूर्ण नेपाली समुदायको सहभागिता सुनिश्चित गरिएको छ।
कार्यक्रमको मूल आकर्षणको रूपमा, साढे ४ मिटर अग्लो रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। उक्त रथमा कुमारी, गणेश र भैरवको रथयात्रा गराइनेछ। यस्तै, नेपालबाट ६ फिट अग्लो ‘स्वेत भैरव’ को प्रतिमा विशेष रूपमा मेलबर्न ल्याइँदैछ।
यसै कार्यक्रम अन्तर्गत, कुमारीको सुगुन (शुभ साइतसहितको फोटो) हस्तान्तरण गरी कुमारीको प्रतीक प्रतिमा रथारोहण गरिनेछ। यसले नेपालमा हुने इन्द्र जात्राको पूरै अनुभूति अष्ट्रेलियामा दिलाउने नेवा गुठी मेलबर्नका अध्यक्ष माया प्रसाद सुवालले नेपाल न्युज अष्ट्रेलियालाई बताए। अध्यक्ष सुवालले भने- ‘नेपालमैझैं मौलिकता झल्किने इन्द्र जात्रा अष्ट्रेलियामा पहिलोपटक खुला रुपमा आयोजना हुँदैछ। यो हाम्रो सम्पदा र पहिचानको पुनर्स्थापनाको अभियान हो।”
कार्यक्रमका संयोजक (Event Coordinator) रञ्जन बैद्यका अनुसार यस कार्यक्रमले नेपाली संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ। दुई पुस्ताबीचको सांस्कृतिक हस्तान्तरण (cultural transformation) को माध्यम बनेर, नयाँ पुस्तालाई आफ्नो मौलिकता बुझ्न सहयोग पुग्नेछ ।
बैद्यले अगाडि भने -विदेशी दर्शकहरूका लागि पनि यो एउटा अनुपम अवसर हो – जसले नेपाली संस्कृति कति समृद्ध र ऐतिहासिक छ भन्ने सन्देश दिन्छ। हामी हाम्रो जरा बिर्सनु हुँदैन भन्ने सन्देश यस कार्यक्रमको आयोजना गरिएको हो।
संस्थाका सल्लाहकार राजन मास्केले अगाडि भने - मेलबर्नमा इन्द्र जात्रा केवल एक पर्व होइन, यो हामी को हौं भन्ने आत्मचिन्तनको अवसर हो। यो कार्यक्रमले सम्पूर्ण प्रवासी नेपालीलाई जोड्ने सूत्रको रूपमा काम गर्नेछ।”
उक्त दिन कार्यक्रममा नेवार समुदायको मौलिक परम्पराहरू प्रस्तुत गरिनेछ। जसमा लाखे नाच, पुलुकिसी (हात्ती नृत्य), धिमे बाजा, नेवारी सांस्कृतिक नृत्य र झाँकी, परम्परागत वेशभूषा, जात्रा सजावट र विधिपूर्वक पूजा आराधाना गरिनेछ । अनुमानित ५० हजार अष्ट्रेलियन डलर खर्च लाग्ने अनुमान गरिएको सो कार्यक्रममा करिब् ३ हजारदेखि ५ हजारको हाराहारीमा सहभागीको अपेक्षा गरिएको यो कार्यक्रममा मेलबर्नका स्थानीय नेपाली समुदाय, अन्य जातीय संस्थाहरू, अन्तर्राष्ट्रिय पाहुना र विभिन्न सांस्कृतिक संस्थाहरूको सहभागिता रहने जनाइएको छ ।
“Celebrate Culture, Support Community” भन्ने मूल नारासहित आयोजना हुने इन्द्र जात्राले अष्ट्रेलियामा नेपाली समुदायको सांस्कृतिक पहिचान र आत्माभिमान झल्काउनेछ। यो पर्व, हाम्रो ऐतिहासिक मूल्य, संस्कृति र आस्थालाई प्रवासमा पनि जोगाउने प्रयासको रुपमा लिईेएको छ ।
नेपाली समुदायको साथ, सहकार्य र सहभागिताले गर्दा उक्त कार्यक्रम सांस्कृतिक इतिहासको कोसेढुंगा सावित हुने आयोजकहरूको विश्वास छ। सबै मेलबर्नबासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि आयोजक नेवा गुठी मेलबर्नले अनुरोध गरेको छ।