सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको एकता, पहिचान र सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सिड्नीमा आगामी नोभेम्बर २७ र २८ मा दुई विशेष कार्यक्रम आयोजना हुने भएका छन्।
सन् १९७६ मा स्थापना भएको नेपालीज अस्ट्रेलियन एसोसिएसन (NAA) ले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा नोभेम्बर २७ शुक्रबार हर्स्टभिलस्थित माराना हलमा स्वर्णजयन्ती समारोह आयोजना गर्दैछ। साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल र गायिका शान्तिश्री परियारको प्रस्तुति रहनेछ। साथै, प्रख्यात मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ।

त्यस्तै, ग्रेटर सिड्नी नेपालीज मल्टिकल्चरल सेन्टर (GSNMC) ले नोभेम्बर २८ शनिबार सिड्नीको वेस्ली कन्फरेन्स सेन्टरमा सदस्य सम्मान तथा कोष सङ्कलन साँझ आयोजना गर्ने भएको छ। साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा संस्थाका सदस्य तथा समुदायमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिनेछ।
GSNMC ले आफ्नो मूल नारा ‘Connect, Inspire, Thrive’ अर्थात् ‘जोडौँ, प्रेरित गरौँ र समृद्ध बनौँ’ लाई आत्मसात् गर्दै सिड्नीमा नेपाली कला, संस्कृति र पहिचान झल्किने सांस्कृतिक भवन निर्माण गर्ने दीर्घकालीन योजना अघि सारेको छ।
संस्थाको परिकल्पनाअनुसार उक्त भवनमा नेपाली मौलिक शैलीका संरचना, परम्परा र संस्कृति झल्काउने सामग्री तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रदर्शन गरिनेछ। नेपाली समुदायले विवाह, चाडपर्व, सांस्कृतिक उत्सव, सभा, सम्मेलन तथा विभिन्न सामाजिक कार्यक्रम गर्न सक्ने साझा स्थलका रूपमा यसलाई विकास गर्ने लक्ष्य छ। साथै, अष्ट्रेलियाका विभिन्न जातजाति र सांस्कृतिक समुदायलाई समेत समेटेर बहुसांस्कृतिक एकता र आपसी सद्भावको केन्द्र बनाउने संस्थाको सपना रहेको छ। यसले अस्ट्रेलियामा हुर्किरहेका दोस्रो पुस्ताका नेपाली बालबालिका तथा युवालाई आफ्नो भाषा, संस्कृति र पुर्खाको पहिचानसँग प्रत्यक्ष रूपमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
NAA का सल्लाहकार उमेश पन्तले दुवै कार्यक्रमलाई नेपाली समुदायको इतिहास, उपलब्धि र भावी सम्भावनासँग जोडिएको महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्। उनले NAA को स्वर्णजयन्तीले पाँच दशकको योगदानलाई सम्मान गर्ने र GSNMC को अभियानले समुदायको भविष्यका लागि साझा आधार निर्माण गर्ने बताए।
त्यस्तै, GSNMC का अध्यक्ष विष्णु हमालले नेपाली सांस्कृतिक भवन निर्माणको सपना साकार पार्न सबै नेपालीको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। उनले सिड्नी तथा आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भई संस्थालाई सहयोग गर्न र सामुदायिक अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
लगातार दुई दिन आयोजना हुने यी कार्यक्रमले नेपाली समुदायको विगतको योगदानलाई सम्मान गर्दै भावी पुस्ताका लागि संस्कृति, पहिचान र एकताको बलियो आधार निर्माण गर्ने अपेक्षा गरिएको छ।