नेभिगेशन
LEADING_MAIN

सिड्नीमा नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा: एक हजार नेपाली र एक हजार अस्ट्रेलियन झण्डासहित भव्य परेड

परेडको पहिलो ब्यानरमा ‘Thank You Australia’; जन्मभूमि नेपाललाई सहयोग र साथ दिएको अस्ट्रेलियाप्रति कृतज्ञता व्यक्त गर्दै नेपाली समुदायले देखाउने सांस्कृतिक एकता

✍️कृष्ण तिवारी
सिड्नी । नेपाली कला, संस्कृति र पहिचानको उत्सवका रूपमा आयोजना हुन लागेको ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ को तयारी लगभग पूरा भएको छ। आगामी नोभेम्बर ७ तारिख शनिबार सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा आयोजना हुने महोत्सवलाई यसपटक विशेष र ऐतिहासिक बनाउने गरी आयोजकले तयारी गरेका छन्।IMG_7803-1793705869.jpeg

यस वर्षको महोत्सवको सबैभन्दा आकर्षक पक्ष बन्नेछ नेपाली र अस्ट्रेलियन झण्डासहितको भव्य सांस्कृतिक परेड। परेडमा एक हजार नेपाली राष्ट्रिय झण्डा र एक हजार अस्ट्रेलियन राष्ट्रिय झण्डा प्रदर्शन गरिनेछ। दुई देशका झण्डाले सिड्नीको सडक र पार्कलाई रंगीन बनाउने मात्र नभई नेपाल र अस्ट्रेलियाबीचको मित्रता, आपसी सम्मान, सहकार्य र आत्मीयताको सन्देशसमेत प्रवाह गर्नेछ।

परेडको सबैभन्दा अगाडि रहने पहिलो ब्यानरमा ‘THANK YOU AUSTRALIA’ लेखिनेछ। आफ्नो जन्मभूमि नेपाललाई विभिन्न समयमा साथ, सहयोग र सद्भाव प्रदान गर्दै आएको अस्ट्रेलियाप्रति नेपाली समुदायको कृतज्ञता व्यक्त गर्ने उद्देश्यले यो विशेष सन्देश राख्न लागिएको हो।

कर्मभूमिका रूपमा अस्ट्रेलियालाई आत्मसात् गर्दै आएका नेपालीहरूले जन्मभूमि नेपालको सुखदुःखमा अस्ट्रेलियाले देखाएको साथ र सहयोगप्रति सम्मान व्यक्त गर्ने यो परेडलाई यस वर्षको महोत्सवको विशेष पहिचानका रूपमा हेरिएको छ।

एक हजार नेपाली र एक हजार अस्ट्रेलियन झण्डाले सिड्नी गुञ्जायमान हुने

बिहान १० बजे सिड्नीको टाउन हलबाट सुरु हुने परेड विभिन्न सांस्कृतिक झाँकी र बाजागाजासहित डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कतर्फ अघि बढ्नेछ।

परेडमा नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान झल्काउने विभिन्न समुदायका मौलिक भेषभूषा, सांस्कृतिक झाँकी तथा परम्परागत बाजागाजाको प्रस्तुति रहनेछ। पञ्चेबाजा र धिमे बाजाको विशेष प्रस्तुतिले सिड्नीको वातावरणलाई नेपाली सांस्कृतिक रौनकले भरिपूर्ण बनाउने अपेक्षा गरिएको छ।

एक हजार नेपाली र एक हजार अस्ट्रेलियन झण्डाको संयुक्त प्रदर्शनले दुई देशबीचको मित्रता र नेपाली समुदायको अस्ट्रेलियाप्रतिको सम्मानलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्नेछ। विशेषगरी नयाँ पुस्ताका नेपाली बालबालिका तथा युवामाझ दुई देशको सम्बन्ध र आफ्नो सांस्कृतिक पहिचानबारे सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको उद्देश्य छ।

पत्रकार सम्मेलनमार्फत महोत्सवका तयारीबारे जानकारी

महोत्सवको पूर्वतयारीबारे जानकारी दिन सोमबार, नोभेम्बर २ मा एनआरएनए अष्ट्रेलियाको  मुख्य कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा आयोजकले महोत्सवको तयारी लगभग पूरा भएको जानकारी दिँदै कार्यक्रमका मुख्य आकर्षण र व्यवस्थापनका विभिन्न पक्ष सार्वजनिक गरेका थिए।IMG_7804-1793705999.jpeg

एनआरएनए एनएसडब्ल्यूकी स्टेट कोअर्डिनेटर उषा किरण बरिया पोखरेलले महोत्सवको उद्देश्य, सांस्कृतिक महत्व र तयारीबारे जानकारी दिइन्। पोखरेलले अस्ट्रेलियाका उच्चस्तरीय नेतृत्वसहित नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिन्  ।  

उनका अनुसार नेपाल फेस्टिभल नेपाली संस्कृति, परम्परा र पहिचानलाई अस्ट्रेलियाली समाजमाझ चिनाउने महत्वपूर्ण अवसर हो। विदेशमा जन्मिएको नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र मौलिक परम्परासँग जोड्नुका साथै अस्ट्रेलियाली समुदायलाई नेपालको सांस्कृतिक विविधतासँग परिचित गराउनु महोत्सवको प्रमुख उद्देश्य रहेको उनले बताइन्।

त्यस्तै, एनआरएनए एनएसडब्ल्यू स्टेट सेक्रेटरी प्रताप पन्थीले महोत्सवको तयारी, व्यवस्थापन तथा कार्यक्रमका थप पक्षबारे जानकारी गराउँदै सबैको सहभागिता र सहकार्यले महोत्सवलाई सफल बनाउने बताए।

एनआरएनए एनएसडब्ल्यूका स्टेट जोइन्ट सेक्रेटरी विजय घिमिरेले महोत्सवमा रहने फुड स्टल तथा अन्य प्रदर्शनी स्टलका विषयमा जानकारी दिए। सो पत्रकार सम्मेलनमा अष्ट्रेलियामा सक्रिय रुपमा रहेको  पत्रकारहरुको सस्था अष्ट्रेलियन नेपलिज जर्नलिस्ट  एसोसियसन (एन्जा) ले सपोर्टरको रुपमा  सहकार्य  गरेको थियो ।  

प्रकाश सपूत र रचना रिमालको सांगीतिक प्रस्तुतिले बिशेष रौनक थप्ने 

यस वर्षको नेपाल फेस्टिभलको अर्को प्रमुख आकर्षण लोकप्रिय गायक प्रकाश सपूत र गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

नेपाली संगीत क्षेत्रमा लोकप्रिय यी दुई कलाकारको प्रस्तुतिले महोत्सवमा छुट्टै सांगीतिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ। विशेष आकर्षणका रूपमा प्रकाश सपूतले महोत्सवकै मञ्चमा तिहारको देउसी–भैलोसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्।

नेपाली लोकसंस्कृति, चाडपर्व र आधुनिक सांगीतिक प्रस्तुतिको संयोजनले प्रवासमा रहेका नेपालीलाई आफ्नै गाउँघर र चाडपर्वको सम्झना गराउने अपेक्षा गरिएको छ।

नोभेम्बर ७ तारिख शनिबार बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने महोत्सवमा दिनभर विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रमहरू आयोजना हुनेछन्।

‘‘पुनर्निर्माण र पर्यटन प्रवर्द्धन’ (Rebuild Nepal and Promote Tourism) भन्ने मूल भावनासहित आयोजना हुन लागेको नेपाल फेस्टिभलले नेपालको कला, संस्कृति, पर्यटन, खानपान, भेषभूषा र मौलिक पहिचानलाई एउटै थलोमा प्रस्तुत गर्नेछ।

यसपटकको ‘Thank You Australia’ सन्देशसहितको परेडले महोत्सवलाई केवल सांस्कृतिक उत्सवमा सीमित नराखी अस्ट्रेलियाप्रति नेपाली समुदायको कृतज्ञता, दुई देशबीचको मित्रता र आपसी सद्भाव अभिव्यक्त गर्ने अवसरका रूपमा समेत स्थापित गर्ने अपेक्षा गरिएको छ।

आयोजकले सिड्नी तथा अस्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई परिवार, साथीभाइ र आफन्तसहित कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।