एडिलेड, साउथ अस्ट्रेलिया । आगामी मार्चमा एडिलेडमा आयोजना हुने सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिट (ओएनएसएम)–२०२७ को तयारी तीव्र पारिएको छ। प्रतियोगितालाई सफल बनाउन साउथ अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक तथा खेलकुद संस्थाहरू एकजुट भएका छन् भने आयोजनाका विभिन्न जिम्मेवारीमा १७० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको आयोजकले जनाएको छ।
मार्च २५ देखि २८ सम्म चार दिन सञ्चालन हुने प्रतियोगितामा अस्ट्रेलियाका विभिन्न राज्यसँगै न्युजिल्यान्डबाट नेपालीमूलका खेलाडी, पदाधिकारी, समर्थक तथा समुदायका सदस्यहरू एडिलेड आउने अपेक्षा गरिएको छ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित प्रेस मिटमा आयोजकले खेलाडी दर्ता प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै प्रतियोगिताको व्यवस्थापन, खेल सञ्चालन, स्वयंसेवक परिचालन, प्रायोजन तथा चारदिने कार्यक्रमको तयारीबारे जानकारी दिएको थियो।
प्रतियोगितामा क्रिकेट, जुनियर क्रिकेट, फुटबल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, स्विमिङ तथा ट्र्याक एन्ड फिल्ड गरी ११ खेल समावेश गरिएको छ।
प्रेस मिटमा साउथ अस्ट्रेलियाका नेपाली सामुदायिक अगुवा, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, खेलाडी, प्रायोजक र सञ्चारकर्मीको उपस्थिति थियो। अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपाली पत्रकार तथा सञ्चारकर्मीसमेत अनलाइनमार्फत कार्यक्रममा सहभागी भएका थिए।
आयोजकका अनुसार प्रतियोगिताको व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ। ती उपसमितिमार्फत १७० भन्दा बढी स्वयंसेवकले प्रतियोगिताको तयारीमा काम गरिरहेका छन्। खेलाडी दर्ता प्रक्रिया भने प्रेस मिटको अघिल्लो दिनदेखि औपचारिक रूपमा सुरु गरिएको हो।
यसपटकको ओएनएसएमका लागि आयोजकले कोआलालाई आधिकारिक मस्कटका रूपमा सार्वजनिक गरेको छ। अस्ट्रेलियाको पहिचानसँग जोडिएको कोआलालाई प्रतियोगिताको प्रतीकका रूपमा अघि सारिएको हो।
‘यो खेल मात्र होइन, नेपाली समुदायको उत्सव हो’
ओएनएसएम साउथ अस्ट्रेलिया–२०२७ का अध्यक्ष विजय जोशीले प्रतियोगितालाई खेलकुदमा मात्र सीमित नराखी नेपाली समुदायको साझा उत्सवका रूपमा अघि बढाउन खोजिएको बताए।
‘यो खेल मात्र होइन, नेपाली समुदायको उत्सव हो,’ जोशीले भने, ‘सबैको सामूहिक प्रयासबाट सातौँ ओएनएसएमलाई सफल बनाउन सकिन्छ।’
उनले प्रतियोगिताको तयारीमा खटिएका स्वयंसेवक, विभिन्न उपसमिति, प्रायोजक, सहयोगी संघसंस्था तथा समुदायप्रति आभार व्यक्त गर्दै साउथ अस्ट्रेलियामा रहेका नेपालीलाई प्रतियोगितामा सक्रिय सहभागिताका लागि आग्रह गरे।
कार्यक्रमको सुरुवातमा ओएनएसएम एसए–२०२७ का सहसंयोजक सन्तोष अधिकारीले स्वागत मन्तव्य राखेका थिए। उनले प्रतियोगिताको उद्देश्य र तयारीबारे जानकारी दिँदै समुदायबाट प्राप्त सहयोग र सहकार्यले आयोजनालाई थप उत्साहित बनाएको बताए।
‘समुदायबाट पाएको विश्वास समुदायमै फर्काउन चाहन्छौं’
प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज एडिलेडका निर्देशक रूपक बर्तौलाले समुदायबाट प्राप्त साथ र विश्वासलाई समुदायमै फर्काउने उद्देश्यले प्रतियोगितासँग सहकार्य गरिएको बताए।
‘गिभिङ ब्याक टु कम्युनिटी’को अवधारणाअनुसार ओएनएसएमलाई प्रायोजन गरिएको उल्लेख गर्दै उनले नेपाली समुदायलाई खेलकुदमार्फत जोड्ने ठूलो आयोजनामा सहकार्य गर्न पाउनु महत्वपूर्ण भएको बताए।
‘नेपाल मेरो दोस्रो घर हो’
ओएनएसएम–२०२७ की इभेन्ट एम्बासडर तथा अस्ट्रेलियाकी चर्चित प्यारालिम्पियन क्याट्रिना वेब ओएएमले आफूलाई प्रतियोगितासँग जोड्ने अवसर दिएकोमा आयोजकप्रति आभार व्यक्त गरिन्।
नेपालसँग लामो समयदेखि जोडिँदै आएकी वेबले नेपाललाई आफ्नो ‘दोस्रो घर’का रूपमा उल्लेख गरिन्। सन् २०११ देखि नेपाल भ्रमण गर्दै आएकी उनी आगामी अक्टोबरमा १८औँ पटक नेपाल जाने तयारीमा रहेको कार्यक्रममा जानकारी दिइयो।
खेलकुदका माध्यमबाट समुदायलाई जोड्ने ओएनएसएमको अभियानसँग जोडिन पाउँदा आफू खुसी भएको वेबले बताइन्।
एडिलेडमा आर्थिक गतिविधि बढ्ने अपेक्षा
ओएनएसएमका क्रममा ओसियानाका विभिन्न स्थानबाट ठूलो संख्यामा खेलाडी, पदाधिकारी, परिवारका सदस्य तथा समर्थक एडिलेड आउने भएकाले स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने आयोजकको अपेक्षा छ।
खेल सकिएपछि हरेक साँझ ओलम्पिक हाउसमा विभिन्न सांस्कृतिक तथा सामुदायिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका कारण होटल, यातायात, खानपान, पर्यटन तथा अन्य सेवा क्षेत्रमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगितासँग जोडिएको प्रत्यक्ष आर्थिक योगदान दुई लाख अस्ट्रेलियन डलरभन्दा बढी हुन सक्ने प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ।
यसका लागि साउथ अस्ट्रेलिया सरकार, स्थानीय निकाय, खेलकुदसम्बन्धी निकाय, व्यवसायिक क्षेत्र र नेपाली समुदायबीचको सहकार्य आवश्यक रहेको विषयमा पनि प्रेस मिटमा चर्चा गरिएको थियो। आर्थिक सहयोगसँगै खेलमैदान, पूर्वाधार, लजिस्टिक तथा कार्यक्रम व्यवस्थापनमा राज्य सरकार र स्थानीय निकायको सहभागिताको आवश्यकता औंल्याइएको थियो।
खेलसँगै भाषा, साहित्य र संस्कृतिको संगम
सन् २०१३ देखि सुरु भएको ओसियाना नेपाली स्पोर्ट्स मिट हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ। सातौँ संस्करण पहिलोपटक साउथ अस्ट्रेलियामा आयोजना हुन लागेकाले स्थानीय नेपाली समुदायले यसलाई विशेष महत्वका साथ लिएको छ।
‘युनाइटेड बाइ हेरिटेज, इन्स्पायर्ड बाइ स्पोर्ट’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई आयोजकले खेलकुद प्रतिस्पर्धामा मात्र सीमित नगरी भाषा, साहित्य, संगीत, संस्कृति र समुदायलाई जोड्ने चारदिने उत्सवका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
आयोजकले साउथ अस्ट्रेलियासहित अस्ट्रेलियाका विभिन्न राज्य, न्युजिल्यान्ड तथा ओसियाना क्षेत्रमा रहेका नेपाली खेलाडी, संघसंस्था, व्यवसायी, स्वयंसेवक, सञ्चारकर्मी तथा समुदायका सदस्यलाई सातौँ ओएनएसएममा सहभागी भई प्रतियोगितालाई सफल बनाउन आग्रह गरेको छ।