सिड्नी । अस्ट्रेलियामा अध्ययन गर्न चाहने तथा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक अवसर र माइग्रेसनसम्बन्धी जानकारी उपलब्ध गराउने उद्देश्यले सिड्नीमा ‘ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ आयोजना हुने भएको छ।
अक्टोबर २६ सोमबार भोली सिड्नी टाउन हलस्थित लोअर टाउन हलमा आयोजना हुने एक्स्पोमा ५० भन्दा बढी शैक्षिक संस्था र १० भन्दा बढी माइग्रेसनसम्बन्धी विज्ञ सहभागी हुने आयोजकले जनाएको छ। प्रवेश निःशुल्क रहने कार्यक्रममा विद्यार्थीले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन्।
‘२० वर्षदेखि जीवन र शिक्षालाई जोड्दै’ भन्ने नारासहित आयोजना हुन लागेको एक्स्पो ग्रेस इन्टरनेसनलको २०औँ वार्षिकोत्सवसँग जोडिएको छ। कार्यक्रममा पाठ्यक्रम छनोट, छात्रवृत्ति, भर्नाका सर्त, विद्यार्थी भिसा, सीप मूल्याङ्कन तथा सम्भावित माइग्रेसन मार्गबारे जानकारी दिइनेछ।
एक्स्पोको तयारीबारे जानकारी दिन अक्टोबर १९ मा सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा ग्रेस इन्टरनेसनलका प्रतिनिधि तथा शैक्षिक क्षेत्रका सरोकारवालाले बदलिँदो शैक्षिक र माइग्रेसन नीतिका बीच विद्यार्थीलाई सही र विश्वसनीय सूचना उपलब्ध गराउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए।
ग्रेस इन्टरनेसनल सिड्नीका इभेन्ट कोअर्डिनेटर तथा अपरेसन्स म्यानेजर अर्बिन एसीले शैक्षिक संस्था र माइग्रेसन विज्ञलाई एउटै मञ्चमा ल्याउँदा विद्यार्थीका जिज्ञासा सम्बोधन गर्न सहज हुने बताए। संस्थाकी कार्यकारी निर्देशक सिम्रिता रञ्जितकारले विद्यार्थीलाई आफ्नो शैक्षिक तथा व्यावसायिक भविष्यबारे सूचित निर्णय लिन सहयोग गर्नु संस्थाको प्रमुख प्रतिबद्धता रहेको बताइन्।
सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेसनलले अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई परामर्श तथा सहयोग प्रदान गर्दै आएको छ। एक्स्पोमा भावी विद्यार्थी, अध्ययनरत विद्यार्थी, स्नातक तथा सिड्नीको बहुसांस्कृतिक समुदायका सदस्यलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।