एडिलेड (साउथ अष्ट्रेलिया ) । ओशिनिया क्षेत्रकै सबैभन्दा ठूलो र प्रतिष्ठित नेपाली खेलकुद महोत्सव ‘७औँ ओशिनिया नेपाली स्पोर्ट्स मिट (ONSM)–२०२७’ को तयारी औपचारिक रूपमा सुरु भएको छ। आगामी २०२७ मार्च २५ देखि २८ सम्म साउथ अष्ट्रेलियाको राजधानी एडिलेडमा आयोजना हुने प्रतियोगितालाई सफल, व्यवस्थित र स्मरणीय बनाउन साउथ अष्ट्रेलिया राज्य समन्वय समिति घोषणा गरिएको हो।
सन् २०१३ देखि निरन्तर आयोजना हुँदै आएको ओशिनिया नेपाली स्पोर्ट्स मिटलाई प्रवासी नेपाली समुदायको ‘ओलम्पिक’ का रूपमा चिनिन्छ। अष्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न राज्यबाट सयौं नेपाली खेलाडी, प्रशिक्षक, स्वयंसेवक र समर्थकलाई एउटै मञ्चमा ल्याउँदै खेलकुदमार्फत नेपाली पहिचान, एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने लक्ष्य प्रतियोगिताले बोकेको छ।
प्रतियोगिताका राज्य संयोजक तथा एडिलेड नेपाली क्रिकेट एसोसिएसनका अध्यक्ष विजय जोशीले खेलकुदसँगै नेपाली संस्कृति, समुदाय र साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले तयारीलाई तीव्र बनाइएको बताए।
अनुभवी टोलीको नेतृत्वमा तयारी
घोषित मुख्य कार्यसमितिमा विजय जोशी संयोजक, सन्तोष अधिकारी सह–संयोजक, दिपेश राज पाण्डे कोषाध्यक्ष, दिप्सन खड्का आर्थिक संयोजक, बालगोपाल उपाध्याय मिडिया संयोजक, रेनुका लामा स्पन्सरसिप संयोजक तथा रुपक बर्तौला सह–स्पन्सरसिप संयोजक रहेका छन्।
त्यस्तै नबिन पन्त डकुमेन्ट कन्ट्रोलर, मञ्जु खड्का मल्टिकल्चरल तथा कम्युनिटी संयोजक, सन्तोषी गौतम लजिस्टिक संयोजक, पुष्कर कोइराला इभेन्ट व्यवस्थापन संयोजक, मधुकर पौडेल आईसीटी सपोर्ट संयोजक, सिमा गुरुङ सांस्कृतिक संयोजक, रक्षा शुक्ला मेडिकल संयोजक, सभा डीसी न्यौपाने डिजिटल मिडिया तथा प्रमोसन संयोजक, थिर गुरुङ खेलकुद संयोजक, अनुभव अधिकारी स्वयंसेवक संयोजक, मोति नराल कानुनी सल्लाहकार तथा सुपक अधिकारी सल्लाहकारको जिम्मेवारी तोकिएको छ।
प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, स्विमिङ, गल्फ, ट्र्याक एन्ड फिल्ड, टेबल टेनिस र लन टेनिसलगायत सबै खेलका लागि छुट्टाछुट्टै विधागत संयोजकसमेत नियुक्त गरिएको छ।
‘हेरिटेजद्वारा एकजुट, खेलकुदद्वारा प्रेरित’
यस संस्करणको प्रतियोगिताले ‘हेरिटेजद्वारा एकजुट, खेलकुदद्वारा प्रेरित’ (United by Heritage, Inspired by Sport) भन्ने मूल नारालाई आत्मसात् गरेको छ। आयोजकले ‘कोआला’ लाई आधिकारिक मस्कट सार्वजनिक गर्दै यसले साउथ अष्ट्रेलियाको पहिचान, आत्मीयता, सहकार्य र न्यानो आतिथ्यको प्रतीकका रूपमा प्रतियोगिताको भावनालाई प्रतिनिधित्व गर्ने जनाएको छ।
प्यारालिम्पिक स्वर्ण विजेता कट्रिना वेभ सद्भावना दूत
प्रतियोगिताको अर्को विशेष आकर्षणका रूपमा अष्ट्रेलियाकी चर्चित प्यारालिम्पियन कट्रिना वेभ (Katrina Webb OAM) लाई आधिकारिक सद्भावना दूत नियुक्त गरिएको छ। तीन वटा प्यारालिम्पिक खेलमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै स्वर्ण, रजत र कास्य पदक जितेकी वेभ नेतृत्व प्रशिक्षक, फिजियोथेरापिस्ट र अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ताका रूपमा समेत परिचित छिन्।
नेपालसँग उनको आत्मीय सम्बन्ध निकै पुरानो छ। उनले दुई पटक सगरमाथा आधार शिविरको पदयात्रा गरिसकेकी छन् भने ‘नेपाल लिडरसिप प्रोग्राम’ मार्फत नेपाली युवासँग निरन्तर सहकार्य गर्दै आएकी छन्।
संयोजक जोशीका अनुसार, “कट्रिना वेभजस्तो अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागिताले प्रतियोगिताको विश्वसनीयता र गरिमा अझ उचो बनाएको छ। अब प्रतियोगितालाई नेपाली समुदायमा मात्र सीमित नराखी बृहत् अष्ट्रेलियाली समाजसँग जोड्ने उद्देश्यले प्रत्येक खेलका लागि छुट्टाछुट्टै सद्भावना दूत पनि नियुक्त गरिनेछ।”
८ सय खेलाडी, हजारौं दर्शकको अपेक्षा
आयोजकका अनुसार प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्य र न्युजिल्यान्डबाट ७०० देखि ८०० नेपाली खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। हजारौं दर्शक र समुदायका सदस्यहरूको उपस्थितिले एडिलेड केही दिन नेपाली खेलकुद र सांस्कृतिक उत्सवको केन्द्र बन्ने विश्वास आयोजकको छ।
प्रतियोगिताले खेलकुदमा मात्र सीमित नरही पर्यटन, होटल व्यवसाय, स्थानीय व्यापार, बहुसांस्कृतिक सहकार्य र सामुदायिक सम्बन्धलाई समेत नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। त्यसैले ७औँ ओशिनिया नेपाली स्पोर्ट्स मिट–२०२७ लाई प्रवासी नेपाली समुदायको खेलकुद इतिहासकै अर्को महत्त्वपूर्ण अध्यायका रूपमा हेरिएको छ।