नेभिगेशन
तास्मानिया

तास्मानियामा नेपाल फेस्टिभल २०२६ को तयारी तीव्र

लन्चेस्टनलाई केन्द्र बनाएर निःशुल्क सटल बस

होबार्ट। नेपाली कला, संस्कृति, संगीत, परम्परा र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यसहित अस्ट्रेलियाको तास्मानियामा आयोजना हुन लागेको नेपाल फेस्टिभल २०२६ को तयारी तीव्र पारिएको छ। आगामी नोभेम्बर १४, शनिबार, होबार्टस्थित सालामान्का क्षेत्रको पार्लियामेन्ट लन्समा आयोजना हुने महोत्सवमा १० देखि १२ हजारसम्म दर्शक तथा सहभागी उपस्थित हुने आयोजकको अपेक्षा छ।

एनआरएनए अस्ट्रेलियाअन्तर्गत एससीसी तास्मानियाको आयोजनामा हुन लागेको महोत्सवलाई नेपाली समुदायको एकता, सांस्कृतिक विविधता र अस्ट्रेलियाको बहुसांस्कृतिक पहिचान प्रतिबिम्बित गर्ने साझा उत्सवका रूपमा अघि बढाइएको छ। कार्यक्रममा तास्मानियाका राजनीतिक नेतृत्व, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, सामुदायिक अगुवा, स्वयंसेवक तथा स्थानीय समुदायका सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

महोत्सवको तयारी, सामुदायिक सहकार्य, स्वयंसेवक परिचालन तथा व्यवस्थापनका विषयमा छलफल भइरहेको कार्यक्रम संयोजक एवं एनआरएनए अस्ट्रेलिया एससीसी तास्मानियाका स्टेट कोअर्डिनेटर सुजन वाग्लेले जानकारी दिए।

वाग्लेले नेपाल फेस्टिभल नेपाली कला र संस्कृतिको प्रदर्शनमा मात्र सीमित नरही प्रवासमा नेपाली पहिचानलाई जीवन्त राख्ने र विभिन्न समुदायबीच सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण अवसर भएको बताए।

‘नेपाल फेस्टिभल हाम्रो कला, संस्कृति र मौलिक पहिचानलाई अस्ट्रेलियाली समुदायमाझ चिनाउने साझा मञ्च हो। तास्मानियाका विभिन्न सहरमा बसोबास गर्ने नेपालीलाई एकै ठाउँमा जोड्दै सबैको अपनत्व र सहभागितामा महोत्सव सफल बनाउने हाम्रो लक्ष्य छ,’ वाग्लेले भने, ‘यसका लागि सबै नेपाली संघसंस्था, व्यवसायी, युवा, समुदायका अगुवा र स्वयंसेवकलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दछौँ।’

यस वर्षको महोत्सवको मुख्य आकर्षण नेपाली संगीत क्षेत्रका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। आयोजकका अनुसार गायक प्रकाश सपूत, गायिका रचना रिमाल, गायक अनिल सिंहलगायत कलाकार तथा स्थानीय नेपाली गायक–गायिकाले सांगीतिक प्रस्तुति दिनेछन्। हास्यकलाकारका प्रस्तुतिसमेत समावेश गरिने भएकाले महोत्सवमा संगीत, मनोरञ्जन र सांस्कृतिक कार्यक्रमको विविधता रहने अपेक्षा गरिएको छ।

नेपाली लोकगीत, आधुनिक संगीत, परम्परागत नृत्य, सांस्कृतिक झाँकी र मौलिक भेषभूषामार्फत नेपालको सांस्कृतिक सम्पदा प्रस्तुत गरिनेछ। साथै, नेपाली खानाका परिकार र परम्परागत सांस्कृतिक प्रस्तुतिले अस्ट्रेलियाली तथा अन्य समुदायका दर्शकलाई नेपाली जीवनशैली र संस्कृतिसँग परिचित गराउने अपेक्षा गरिएको छ।

महोत्सवले विदेशमा हुर्किरहेको नेपाली नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न तथा नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नसमेत योगदान पुर्‍याउने विश्वास आयोजकको छ।

महोत्सवमा  विभिन्न नेपाली संघसंस्था, सांस्कृतिक समूह र समुदायको सहभागितामा झाँकीसहितको परेड आयोजना गरिनेछ। परेडमा नेपाली मौलिकता, परम्परागत पोसाक र सांस्कृतिक विविधता झल्कने प्रस्तुति समावेश गरिनेछ।

परेडपछि औपचारिक समारोह, सांस्कृतिक कार्यक्रम तथा कलाकारहरूको सांगीतिक प्रस्तुति सञ्चालन हुनेछन्। कार्यक्रम राति ९:३० बजेसम्म चल्ने आयोजकले जनाएको छ।

तास्मानियाका विभिन्न सहरमा बसोबास गर्ने नेपाली समुदायको सहभागिता सहज बनाउन आयोजकले यातायात व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ। लन्चेस्टन, डेभोनपोर्ट र बर्नी क्षेत्रबाट महोत्सवस्थलसम्म पुग्न निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। लन्चेस्टनलाई केन्द्र बनाएर सेवा सञ्चालन गरिने आयोजकले जनाएको छ।

विशेषगरी लन्चेस्टन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने भुटानी मूलका नेपालीभाषी समुदायसहित अन्य नेपाली परिवारलाई महोत्सवमा सहभागी हुन सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो। सटल बसको प्रस्थानस्थल, समयतालिका र अन्य आवश्यक विवरण आयोजकले पछि सार्वजनिक गर्नेछ।

यस व्यवस्थाले होबार्टभन्दा टाढा रहेका नेपाली परिवार, विद्यार्थी, युवा तथा अन्य समुदायका सदस्यलाई महोत्सवमा सहभागी हुन सहज बनाउने अपेक्षा गरिएको छ।

नेपाल फेस्टिभल प्रवासमा नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै आएको छ। यस्ता महोत्सवले नेपाली समुदायबीच आपसी सद्भाव र सहकार्य बढाउनुका साथै स्थानीय अस्ट्रेलियाली समाजसँग सांस्कृतिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउँछन्।

तास्मानियामा आयोजना हुन लागेको नेपाल फेस्टिभल २०२६ ले पनि नेपाली समुदायको सांस्कृतिक योगदानलाई उजागर गर्दै विभिन्न पृष्ठभूमिका मानिसलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ। १० देखि १२ हजारसम्मको सहभागिता लक्ष्य राखिएको महोत्सवलाई व्यवस्थित र सफल बनाउन आयोजकले कार्यक्रम समन्वय, स्वयंसेवक परिचालन तथा सामुदायिक सहकार्यलाई प्राथमिकता दिएको छ।

नेपाली कला, संगीत, संस्कृति र सामुदायिक एकताको उत्सवका रूपमा आयोजना हुन लागेको नेपाल फेस्टिभल २०२६ तास्मानियामा नेपाली पहिचान प्रस्तुत गर्ने र अस्ट्रेलियाको बहुसांस्कृतिक समाजसँगको सम्बन्ध थप प्रगाढ बनाउने महत्त्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्