नेभिगेशन
अन्य

नाकाबन्दीले लिँदै छ नेपालीको ज्यान

काठमाडौं । सिरहाका नेविसंघ जिल्ला कमिटी सदस्य कमलेशकुमार यादवले मोटरसाइकलका लागि केही पेट्रोल जोहो गरेर घरमा राखेका थिए । तर, त्यही पेट्रोल उनको मात्र होइन, श्रीमतीको पनि काल बन्न पुग्यो । पेट्रोलका कारण घरमा लागेको आगोले गम्भीर घाइते भएका दुवैजनाको शनिबार उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको हो । सिरहाको महादेवा पोर्तहा–७ गाविसमा अवस्थित यादवको घरमा गत १७ कात्तिकमा आगो लागेको थियो । पेट्रोल पोखिएको कोठामा आगो बाल्न खोज्दा त्यसरी यादवदम्पतीको मृत्यु भएको हो । घरको आगो निभाउने क्रममा गम्भीर घाइते भएका २७ वर्षीय कमलेश्वर र उनकी २४ वर्षीया श्रीमती पूजा यादव चौधरीको मृत्यु भएको हो । पूजाका भाइले पेट्रोल बल्छ कि बल्दैन भनेर सल्काउँदा पूरै घर नै जलेको थियो । भारतको अघोषित नाकाबन्दीले निम्त्याएको इन्धन समस्याका कारण उनले घरमा पेट्रोल राखेका थिए । इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार पूजाका १० वर्षीय भाइले बल्छ कि बल्दैन भनेर पेट्रोल पोखिएको स्थानमा आगो बाल्दा उक्त दुर्घटना भएको हो । त्यसवेला पूजा घरभित्र सुतेकी थिइन् । उनलाई जोगाउँदा कमलेश घरभित्र पसेका थिए, आगो निभाउन खोज्दा दुवैजना गम्भीर घाइते भएका थिए । भारतको अघोषित नाकाबन्दीले नेपालमा मानवीय संकट सुरु भइसकेको छ भने अन्य दुर्घटना र विपत् पनि निम्त्याउन थालेको छ । नाकाबन्दकी कारण सिर्जित ती दुर्घटनाले धेरै नेपालीले ज्यान गुमाउन थालेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । सिरहाकै प्रकृतिको घटना गत २४ असोजमा काठमाडौंको कोटेश्वरमा पनि भएको थियो । जोहोका लागि ग्यालिनमा राखिएको पेट्रोलकै कारण एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । रामेछाप लखनपुरका लेखराज श्रेष्ठ, उनकी श्रीमती देउकी र छोरी जेनिशा श्रेष्ठको पेट्रोलबाट सल्किएको आगोले मृत्यु भएको थियो । लेखराज ट्याक्सीचालक हुन् । उनले आफ्नो डेरामा जोहो गरेर पेट्रोल राखेका थिए । एउटा भाडोबाट अर्को भाडामा पेट्रोल खन्याउने क्रममा आगो लागेको थियो । लोडसेडिङका कारण डेरामा मैनबत्ती बालेकाले पेट्रोल पोखिएर सल्किएको थियो । यसरी पेट्रोलमा आगो लागेर हुने मृत्युका साथै नाकाबन्दीको अप्रत्यक्ष प्रभाव सडक दुर्घटनामा पनि पर्न थालेको प्रहरी अधिकारीहरू बताउँछन् । इन्धनको अभावका कारण सवारीसाधनहरूले क्षमताभन्दा तेब्बरसम्म यात्रु बोकेका छन् । जसले दुर्घटनाको जोखिम बढाएको छ । गत ३ कात्तिकमा यात्रुसँगै इन्धन बोकेको बस बाँकेको खासकुस्मामा दुर्घटना हुँदा आठजनाले ज्यान गुमाएका थिए । बसमा पेट्रोल राखिएकाले दुर्घटनापछि आगो लागेर धेरै जलेका थिए । उक्त घटनापछि प्रहरीले यात्रुबाहक बसमा इन्धन ओसारपसार गर्न कडाइ गरेको थियो । गत वर्षको तुलनामा यो वर्षको दसैँ–तिहारमा कम दुर्घटना भए पनि कतिपयमा इन्धन अभावको अप्रत्यक्ष कारण रहेको प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बम बताउँछन् । व्यावहारिकता हेरेर ट्राफिक प्रहरीले पनि धेरै यात्रु बोक्ने प्रवृत्तिलाई रोक्न पहल गरेको छैन । गत १७ कात्तिकमा रसुवामा भएको बस दुर्घटनाको अप्रत्यक्ष कारण इन्धन अभाव भएको प्रहरी अधिकारीहरू बताउँछन् । थोरै मात्र सवारीसाधन चल्दा एउटैमा धेरै यात्रु चढेको र अप्ठेरो बाटोमा चालकले बसलाई नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको थियो । राम्चे गाविसमा भएको उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । इन्धन अभावले समयमा एम्बुलेन्ससमेत बिरामी लिन जान सक्ने अवस्था छैन । इन्धन अभावकै कारण मुलुकका धेरै ठाउँमा एम्बुलेन्स जान नसक्दा उपचार अभावमा कतिपय मानिस ज्यान गुमाउन विवश छन् । कहाँ, कसले ज्यान गुमाएः सिरहाको महादेवा पोर्तहाका कमलेशकुमार यादवको घरमा मोटरसाइकलमा हाल्ने क्रममा पेट्रोल पोखिएको थियो । कमलेशका आफन्तले पेट्रोल बाल्न खोज्दा उनको घर मात्र जलेन, यादवदम्पतीकै मृत्यु भयो । १६ कात्तिकमा यादवदम्पती जलेर घाइते भएकोमा काठमाडौंमा उपचारका क्रममा शनिबार उनीहरूको मृत्यु भयो । गत २४ असोजमा कोटेश्वरका ट्याक्सीचालक लेखराज श्रेष्ठदम्पती र छोरीले घरमा ‘स्टक’ राखेको पेट्रोलकै कारण ज्यान गुमाए । पेट्रोल खन्याउने क्रममा पोखिएर आगो लाग्दा तीनैजनाको मृत्यु भएको थियो । गत ३ कात्तिकमा बाँकेको खासकुस्मामा पेट्रोल र यात्रु बोकेको बस दुर्घटना हुँदा आठजनाको मृत्यु भयो । इन्धन अभावका कारण बसले पेट्रोल ओसार्ने क्रममा बस दुर्घटनामा परेको थियो । पेट्रोलमा लागेको आगोका कारण बस नै जलेको थियो । गत १७ कात्तिकमा रसुवाको नाम्चेमा क्षमताभन्दा धेरै यात्रु बोकेको बस दुर्घटनामा पर्‍यो, जसमा ३८ जनाले ज्यान गुमाए । इन्धन अभावमा जिल्लामा थोरै मात्र सवारीसाधन चलेकाले सो बसमा खचाखच यात्रु थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै