✍️कृष्ण तिवारी
सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अस्ट्रेलियाको विकासमा नेपाली समुदायले पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाद्वारा आयोजित ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा पहिलोपटक सहभागी हुँदै प्रधानमन्त्री अल्बानिजले नेपाली समुदायको सांस्कृतिक पहिचान र बहुसांस्कृतिक अस्ट्रेलियामा उनीहरूको भूमिकाको सराहना गरेका हुन्।
गत शनिबार (७ नोभेम्बर) सिड्नीको पर्यटकीय क्षेत्र डार्लिङ हार्बरस्थित टम्बालङ पार्कमा आयोजित महोत्सवमा नेपाली ढाकाटोपी र खादा लगाएर स्वागत गरिएका प्रधानमन्त्री अल्बानिजले नेपाली समुदाय अस्ट्रेलियाको सामाजिक तथा आर्थिक विकासको महत्त्वपूर्ण हिस्सा रहेको बताए। उनले कार्यक्रममा सहभागी सबैलाई तिहारको शुभकामनासमेत दिए।
कार्यक्रममा प्रधानमन्त्रीले हालै बहादुरीपूर्ण कार्यका लागि सम्मानित नेपाली सुरक्षाकर्मी विकास भारतीको पनि चर्चा गरेका थिए। साथै, गत अगस्टमा नेपालमा आएको बाढीपहिरोबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनर्निर्माणका लागि अस्ट्रेलियाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले मन्तव्यका क्रममा नेपाली समुदाय स्वास्थ्य, शिक्षा, निर्माण, प्रविधि, आतिथ्य तथा व्यवसायलगायतका क्षेत्रमा अस्ट्रेलियाको विकासमा योगदान गरिरहेको उल्लेख गरे। उनले युवा विकास, सामुदायिक पूर्वाधार र सांस्कृतिक कार्यक्रमका लागि अस्ट्रेलिया सरकारसँग थप सहयोग र सहकार्यको आग्रह गरे। उनले भने- ‘हामी आफ्नो भविष्य मात्र बनाइरहेका छैनौँ, अस्ट्रेलियाको भविष्य निर्माणमा पनि योगदान गरिरहेका छौँ।’
कुँवरले नेपालमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न वैज्ञानिक अनुसन्धान, आधुनिक पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनमा नेपाल–अस्ट्रेलिया सहकार्य आवश्यक रहेको बताए। विदेशमा रहेका नेपालीको पहिचान, अधिकार र मातृभूमिसँगको सम्बन्धलाई सम्मान गर्दै उनीहरूलाई नेपालको विकासको साझेदारका रूपमा स्वीकार गर्न नेपाल सरकारसँग पनि उनले आग्रह गरे।
न्यु साउथ वेल्स (एनएसडब्लु) का प्रिमियर क्रिस मिन्सले पनि महोत्सवमा सहभागी हुँदै नेपाली समुदायको योगदान र सांस्कृतिक विविधताको प्रशंसा गरे। उनले बहुसांस्कृतिक अस्ट्रेलियाको पहिचान निर्माणमा विभिन्न समुदायको भूमिका महत्त्वपूर्ण रहेको सन्देश दिएका थिए। अस्ट्रेलियाका निम्ति नेपाली कार्यवाहक राजदूत तारा गौतमले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई आउँदा दिनमा अझ गतिशील र प्रगाढ बनाउन आह्वान गरिन् ।
एनआरएनए अस्ट्रेलियाकी एनएसडब्लु राज्य संयोजक उषा किरण बरिया पोखरेलले नेपाल महोत्सव नेपाली कला, संस्कृति, भाषा र पहिचानलाई अस्ट्रेलियाली समाजमाझ चिनाउने महत्त्वपूर्ण साझा मञ्च भएको उल्लेख गरिन्। उनले महोत्सवले नयाँ पुस्ताका नेपालीलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नुका साथै स्थानीय समुदायसँगको सम्बन्ध विस्तार गर्न सहयोग पुर्याएको बताइन्।
नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री सहभागी भएको यो पहिलो अवसर भएको आयोजकले जनाएको छ। प्रधानमन्त्री अल्बानिजले महोत्सवपछि सामाजिक सञ्जालमार्फत नेपाली समुदायसँग तिहार मनाउन पाएको उल्लेख गरेका थिए।
महोत्सवमा नेपाली कला, संस्कृति, भेषभूषा, खानाका परिकार तथा पर्यटन प्रवर्द्धनसम्बन्धी स्टलहरू राखिएका थिए। चर्चित गायक प्रकाश सपुत, गायिका रचना रिमाललगायतका कलाकारहरूको सांगीतिक प्रस्तुतिले महोत्सवलाई थप मनोरञ्जनात्मक र आकर्षक बनाएको थियो।
एनआरएनए अस्ट्रेलियाले नेपालको कला, संस्कृति, पर्यटन र पहिचानको प्रवर्द्धन गर्दै नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले प्रत्येक दुई वर्षमा नेपाल महोत्सव आयोजना गर्दै आएको छ। यस वर्ष विभिन्न राज्यमा आयोजना भइरहेका महोत्सवमध्ये सिड्नीको कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री र एनएसडब्लु प्रिमियरको सहभागिताले विशेष महत्त्व पाएको छ।