होबार्ट। नेपाली कला, संस्कृति र मौलिक पहिचानलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमाझ प्रवर्द्धन गर्ने उद्देश्यले होबार्टमा आयोजना हुन लागेको नेपाल फेस्टिभल २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी नोभेम्बर १४, शनिबार, सालामान्कास्थित पार्लियामेन्ट लन्समा आयोजना हुने महोत्सवमा १० देखि १२ हजारसम्म दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ।
एनआरएनए अस्ट्रेलियाअन्तर्गत एससीसी तास्मानियाको आयोजनामा हुन लागेको महोत्सवलाई व्यवस्थित र भव्य बनाउन कार्यक्रम व्यवस्थापन, स्वयंसेवक परिचालन, सुरक्षा, यातायात तथा विभिन्न नेपाली संघसंस्थासँगको समन्वयलाई तीव्र पारिएको आयोजकले जनाएको छ।
महोत्सवमा तास्मानियाका गभर्नर महामहिम क्यारोलिन वेल्स प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। अस्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदूतलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिएको छ। त्यसैगरी तास्मानियाका प्रतिपक्षी दलका नेता जोस विली, ग्रिन्सकी नेता डा. रोजाली वुड्रफ, सरकारका प्रतिनिधि मार्कस भर्मे, हाउस अफ एसेम्ब्लीकी सभामुख ज्याकी पेट्रुस्मा तथा होबार्टका लर्ड मेयर चार्ल्स वुलीलगायत राज्यका राजनीतिक तथा सामुदायिक नेतृत्वको सहभागिता रहनेछ।
महोत्सवअन्तर्गत दिउँसो १२ बजे म्याक्वेरी पोइन्टबाट नेपाली मौलिक भेषभूषा, बाजागाजा र विभिन्न सांस्कृतिक झाँकीसहित परेड सुरु हुनेछ। परेडपछि दिउँसो १ बजेदेखि संसद् भवनको प्राङ्गणमा मुख्य सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रममा नेपाली लोक तथा आधुनिक संगीत, विभिन्न जातजातिका परम्परागत नृत्य, नेपाली खानाका परिकार तथा कला र हस्तकलाका प्रदर्शनी समावेश गरिनेछन्। नेपालका विभिन्न भाषा, जातजाति र सांस्कृतिक परम्परालाई एउटै मञ्चमा प्रस्तुत गर्दै विविधताभित्रको एकता झल्काउने आयोजकको लक्ष्य छ।
प्रकाश सपूत, रचना रिमाल अनिल सिंह र हास्य कलाकार बलराम लम्साल ‘बले’ प्रस्तुति
महोत्सवको मुख्य आकर्षणका रूपमा नेपाली संगीत क्षेत्रका चर्चित कलाकार प्रकाश सपूत, रचना रिमाल र अनिल सिंह तथा लोकप्रिय हास्य कलाकार बलराम लम्साल ‘बले’ लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। उनीहरूका अतिरिक्त स्थानीय नेपाली गायक–गायिका तथा कलाकारका प्रस्तुति र हास्य कार्यक्रमसमेत रहनेछन्। महोत्सव राति ९:३० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले नेपाल फेस्टिभल विदेशमा नेपाली कला, संस्कृति र पहिचान प्रस्तुत गर्ने साझा मञ्च भएको बताए। उनले तास्मानियामा मात्र नभई अस्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीलाई समेत महोत्सवमा सहभागी हुन आग्रह गरे।
कार्यक्रम संयोजक एवं एनआरएनए अस्ट्रेलिया एससीसी तास्मानियाका स्टेट कोअर्डिनेटर सुजन वाग्लेले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सबै नेपाली संघसंस्था, व्यवसायी, युवा तथा समुदायका अगुवाको सहभागितामा कार्यक्रम सफल बनाउने लक्ष्य रहेको बताए।
उनका अनुसार कार्यक्रमलाई व्यवस्थित बनाउन स्वयंसेवक परिचालन, सामुदायिक सहकार्य र यातायात व्यवस्थापनमा विशेष ध्यान दिइएको छ।
त्यस्तै, एनआरएनए तास्मानियाका स्टेट युथ कोअर्डिनेटर विष्णु थपलियाले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्न महोत्सव महत्त्वपूर्ण अवसर हुने बताए। उनले तास्मानियामा रहेका युवालाई स्वयंसेवकका रूपमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्।
नेपाल फेस्टिभल २०२६ को टाइटल स्पोन्सर समिट ५ रियल्टी रहेको छ। संस्थाका रूपेश थापाले नेपाली समुदायको साझा सांस्कृतिक उत्सवमा सहकार्य गर्न पाउनु महत्त्वपूर्ण अवसर भएको बताए। उनले व्यवसायको सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको विकास र सांस्कृतिक गतिविधिमा सहयोग गर्नुपर्नेमा जोड दिँदै सबै नेपालीलाई महोत्सवमा सहभागी हुन आग्रह गरे।
होबार्टभन्दा बाहिर बसोबास गर्ने नेपाली समुदायको सहभागिता सहज बनाउन आयोजकले लन्चेस्टन, डेभोनपोर्ट र बर्नीबाट महोत्सवस्थलसम्म निःशुल्क सटल बस सञ्चालन गर्ने भएको छ ।
नेपाल फेस्टिवल कार्यक्रमले नेपाली समुदायलाई एकै ठाउँमा जोड्नुका साथै अस्ट्रेलियाली तथा अन्य समुदायलाई नेपालको कला, संगीत, संस्कृति र परम्परासँग परिचित गराउने अपेक्षा गरिएको छ।