सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित डार्लिङ हार्बरमा आज (नोभेम्बर ७) नेपाल महोत्सव सिड्नी २०२६ आयोजना हुँदैछ। नेपाली कला, संस्कृति, भाषा, परम्परा र संगीतको प्रवर्द्धन गर्दै प्रवासमा नेपाली पहिचानलाई जीवन्त राख्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवले सिड्नीलाई आज नेपालीमय बनाउने अपेक्षा गरिएको छ।
नेपाली समुदायको एकता, सांस्कृतिक पहिचान र आपसी सद्भावलाई थप मजबुत बनाउने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवमा नेपाली समुदायका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अस्ट्रेलियाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
महोत्सवको कार्यक्रम बिहान १० बजे सांस्कृतिक परेडबाट सुरु हुनेछ। दिउँसो १२ बजे औपचारिक उद्घाटन समारोह आयोजना हुनेछ भने १२:३० बजेदेखि विभिन्न नेपाली सांस्कृतिक प्रस्तुति रहनेछन्। दिउँसो ४ बजे विशेष औपचारिक कार्यक्रम र साँझ ५ बजेदेखि सांगीतिक कार्यक्रम सञ्चालन हुनेछ।
महोत्सवको मुख्य आकर्षणका रूपमा नेपालका चर्चित कलाकारहरू प्रकाश सपूत, रचना रिमाल, अनिल सिंह, DA69 र आशिष सचिनले आफ्नो विशेष सांगीतिक प्रस्तुति दिनेछन्। नेपाली संगीतप्रेमीका लागि यी कलाकारहरूको प्रस्तुति विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले नेपाल महोत्सव नेपाली समुदायको साझा उत्सव भएको उल्लेख गर्दै सिड्नी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई परिवार र साथीभाइसँगै महोत्सवमा सहभागी हुन आग्रह गरेका छन्।
उनले नेपाली कला, संस्कृति, भाषा र पहिचानलाई प्रवासमा संरक्षण तथा नयाँ पुस्तामाझ हस्तान्तरण गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्दै सबैको सक्रिय सहभागिताले महोत्सवलाई अझ भव्य र सफल बनाउने बताएका छन्।
त्यसैगरी, एनआरएनए अस्ट्रेलियाकी एनएसडब्ल्यू राज्य संयोजक उषा किरण बरिया पोखरेलले पनि सिड्नीमा आयोजना हुन लागेको नेपाल महोत्सवमा सम्पूर्ण नेपाली समुदायलाई उपस्थित हुन आग्रह गरेकी छन्।
उनले नेपाल महोत्सव नेपाली संस्कृति, परम्परा र एकताको उत्सव भएको उल्लेख गर्दै विदेशमा रहेर पनि आफ्नो मौलिक पहिचान र सांस्कृतिक सम्बन्धलाई जीवन्त राख्न सबैको सहभागिता आवश्यक रहेको बताएकी छन्। साथै, परिवारसहित उपस्थित भई नेपाली कला, संस्कृति र संगीतको उत्सवमा सहभागी हुन उनले सबैलाई अनुरोध गरेकी छन्।
‘रिबिल्ड नेपाल–कनेक्टिङ नेपाल’ भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको महोत्सवले विदेशमा रहेका नेपालीबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै नयाँ पुस्तालाई नेपालको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोड्ने लक्ष्य राखेको छ।
सिड्नीको डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा आयोजना हुने महोत्सवमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ। बिहान १० बजेदेखि सुरु हुने कार्यक्रमको लाइभ कन्सर्ट साँझ ५ बजेदेखि सञ्चालन हुनेछ।
नेपाली कला, संस्कृति, संगीत र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको नेपाल महोत्सव सिड्नी २०२६ मा सिड्नी तथा आसपासका सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित उपस्थित भई भव्य रूपमा सफल बनाउन आयोजकले आग्रह गरेको छ।