सिड्नी । नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको आयोजनामा सिड्नीको रकडेलमा आयोजित तिहार विशेष देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ। नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।
तिहारको सांस्कृतिक महत्त्वलाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यसहित समितिले अस्ट्रेलियाका सातवटै राज्यमा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। तीमध्ये केही राज्यमा कार्यक्रम सम्पन्न भइसकेका छन् भने अन्य राज्यमा कार्यक्रम सञ्चालनको तयारी भइरहेको समितिले जनाएको छ।
रकडेलमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, देउसी–भैलो तथा मनोरञ्जनात्मक कार्यक्रमले सहभागीलाई उत्साहित बनाएको थियो। कार्यक्रममा विभिन्न व्यक्ति तथा संघसंस्थाबाट प्राप्त सहयोगमार्फत कुल १३ लाख रुपैयाँ संकलन भएको समितिका सभापति शीतल गिरीले जानकारी दिए।
समितिले सातवटै राज्यमा आयोजना हुने देउसी–भैलो कार्यक्रमबाट संकलित कुल रकमको ३० प्रतिशत बाढीपीडित परिवारका बालबालिकाको शिक्षाका लागि खर्च गर्ने घोषणा यसअघि नै गरिसकेको छ। विपद्बाट प्रभावित बालबालिकाको शैक्षिक निरन्तरता सुनिश्चित गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त अभियान अघि बढाइएको गिरीले बताए।
कार्यक्रम सफल बनाउन आर्थिक, नैतिक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्ति, संघसंस्था, कलाकार, स्वयंसेवक र सहभागी सबैप्रति सभापति गिरीले आभार व्यक्त गरेका छन्।
नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै प्रवासमा नेपाली मौलिकता जोगाउने तथा सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ।