नेभिगेशन
अन्य

जनताका सुझावलाई संविधानमा समावेश गराइनेछ – अध्यक्ष नेम्वाङ

काठमाडौँ । सविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदामाथि जनताले दिएका सुझावलाई संविधानमा समावेश गराउन प्रमुख राजनीतिक दलका शीर्ष नेता अहोरात्र रुपमा जुटिरहनुभएको बताएका छन् । उनले भने–‘संविधानलाई अन्तिम रुप दिन शीर्ष नेता गम्भीरतापूर्वक लागिरहनुभएको छ, अब छिट्टै सार्थक परिणाम निस्कन्छ ।’ आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्वारा स्थापित आदिवासी जनजाति पुरस्कार २०७२ वितरण गर्दै अध्यक्ष नेम्वाङले सबै वर्ग, क्षेत्र, समुदायको आफ्नो अपनत्व हुने अग्रगामी संविधान आउने विश्वास व्यक्त गरे । ‘संविधानले पहिचान र समावेशीतालाई बिर्सने छैन, यसमा तपाईहरु ढुक्क हुनुहोस्’, अध्यक्ष नेम्वाङले भने । आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले पहिचान र समावेशीतासहितको संविधान नआएमा महासङ्घलाई मान्य हुँदैन भने । फोनिजका अध्यक्ष दण्ड गुरुङ र महासचिव गजुरधन राईले नयाँ बन्न लागेको सञ्चार नीतिलाई समावेशी बनाउनुपर्ने बताए । कार्यक्रममा विसं २०७२ को फोनिज पुरस्कारबाट सात जना सञ्चारकर्मीलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेमा सुरेशकिरण मानन्धर सन्ध्या टाइम्स दैनिक, देविका घर्तीमगर हिमाल खबर, लोकबहादुर गुरुङ र लाल गुरुङ एबिसी टेलिभिजन, रोजिना लामा सगरमाथा टेलिभिजन, सन्तोष नेम्वाङ इलाम एफएम र कमला चौधरी रेडियो जागरण रुपन्देही रहेका छन् । अध्यक्ष नेम्वाङले ती सञ्चारकर्मीलाई नगद रु २० हजारसहित सम्मानपत्र प्रदान गरेका थिए । फोनिजले हरेक वर्ष आदिवासी जनजाति क्षेत्रका सञ्चारकर्मीलाई सम्मान गर्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्