नेभिगेशन
अन्य

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा कांग्रेस महाधिवेशन तयारी सुस्त

काठमाडौं । क्रियाशील सदस्यता नवीकरण तथा वितरणमा उत्पन्न विवाद टुंगो नलाग्दा कांग्रेसको १३ औं महाधिवेशन तयारी सुस्त गतिमा अघि बढेको छ । राजधानीमा असोज २ देखि ५ सम्म महाधिवेशन गर्ने निधो भइसकेको छ । क्रियाशील सदस्यताको छानबिन नसकिएकाले महाधिवेशनको तयारी बैठक हुन सकेको छैन भने नेता तथा कार्यकर्ताको चहलपहलसमेत छैन । भावी नेतृत्वमा पकड राख्न क्रियाशील सदस्यता वितरण तथा नवीकरणदेखि नै होडबाजी चलेको हो । आधाभन्दा बढी जिल्लामा विवाद देखिएको छ । १४ जिल्लामा गम्भीर विवाद छ । क्रियाशील सदस्यता विवाद छानबिन गर्न गठित केन्द्रीय सदस्य एवं मन्त्री नरहरि आचार्यको समितिले काम गरिरहेको छ । समितिले कार्यकर्ताहरूको सम्भावित दबाब र घेराबन्दी छल्न गोप्य रूपमा छानबिन प्रक्रिया अघि बढाएको छ । समितिका सदस्यहरू कहिले धुलिखेल त कहिले महाराजगन्जस्थित एक निजी घरमा बसेर काम गरिरहेका छन् । कतिपय विवाद राजनीतिक खालका छन् भने कतिपय नियम र प्रक्रिया मिचेका विषयसँग सम्बन्धित छन् । पार्टी केन्द्रीय कार्यसमितिको निर्देशन र नियमावली विपरीत बाँडिएका र नवीकरण गरिएका सदस्यलाई मान्यता नदिने गरी छानबिन समितिले टुंग्याउन खोजेको स्रोतले बतायो । नुवाकोट, धनुषा, रौतहट, महोत्तरी, सिरहा, सप्तरी, दोलखा, रामेछाप, भक्तपुर, कास्की, पर्सा, नवलपरासी, बागलुङ र सिन्धुपालञ्चोकमा बढी विवाद देखिएको छ । नियमअनुसार केन्द्रले जिल्ला, जिल्लाले क्षेत्र, क्षेत्रले गाउँ र गाउँले वडा तहलाई फारम दिएर सदस्यता वितरण तथा नवीकरण गर्नुपर्ने व्यवस्था छ । क्रियाशील सदस्यता शतप्रतिशत बढाउने पार्टीको नीतिले पनि विवाद निम्ताएको छ । १२ औं महाधिवेशनको तुलनामा शतप्रतिशत क्रियाशील सदस्यता संख्या बढाउने गरी यसपटक नवीकरण र नयाँ वितरण अभियान थालिएको थियो । प्रत्येक जिल्लामा कायम क्रियाशील सदस्य बराबरै नयाँ वितरण भएका छन । यो हिसाबले करिब ६ लाख क्रियाशील सदस्य पुग्ने छानबिन समितिका सदस्य रामकृण्ण यादवले बताए । १२ औंं महाधिवेशनमा यो संख्या ३ लाख १७ हजार थियो । यादवले क्रियाशील सदस्यताको सम्पूर्ण छानबिन सकेर साउनको पहिलो साताभित्र केन्द्रीय कार्यसमितिलाई बुझाइने बताए । ‘विधान र नियमावलीअनुसार प्रक्रिया नमिलाई सदस्यता वितरण तथा नवीकरण गरिएका मुद्दालाई प्राथमिकता दिएर छानबिन सुरु भएको छ । ‘कतिपय राजनीतिक विषय पनि छन्,’ उनले भने, ‘साउनको पहिलो साताभित्रै हामीले काम सम्पन्न गर्छौं ।’ उनले साउनको पहिलो साताभित्र क्रियाशील सदस्यताको छानबिन सम्पन्न हुँदा स्थानीय तह र केन्द्रीय महाधिवेशनको तिथिलाई कुनै असर नपार्ने बताए । कांग्रेसका नगर वडा, गाउँ र नगर अधिवेशन ०७२ भदौ १ गते, निर्वाचन क्षेत्रीय अधिवेशन ०७२ भदौ ७ र जिल्ला अधिवेशन ०७२ भदौ १० सम्पन्न गर्ने कार्यतालिका छ । क्रियाशील सदस्यताको प्रभाव केन्द्रीय महाधिवेशनसम्म पर्ने गर्छ । क्रियाशील सदस्यहरू गाउँ अधिवेशनमा मतदाता हुन्छन् । गाउँ अधिवेशनले चुनेर पठाउने क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमिति सदस्य छनोट गर्छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै