नेभिगेशन
अन्य

सर्वोच्चको आदेशपछि मौन रुपमा संविधान निर्माण गर्ने रणनीतिमा दलहरु

काठमाडौं । सर्वोच्च अदालतको १६ बुँदे सहमति अन्तरिम संविधान विपरित भएको फैसलासंगै आम नेपालीमा पलाएको आशामा तुषारापात भएको छ । तर नेपाली जनतालाई निराश हुन नदिने तयारी र रणनीतिमा दलहरु लागेका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान लेखनको काम नरोकिने स्पष्ट पारेका छन भने दलहरु पनि आक्रोश र उत्तेजनामा आउने भन्दा पनि चुपचाप संविधान निर्माणको काम खुरुखुरु अगाडि बढाउने रणनीति तय गरेका छन् । दलहरुले तय गरेको रणनीतिअनुसार सरकारले अदालतमा पुनरावलोकन माग गर्दै निवेदन दर्ता सर्वोच्चमा निवेदन दर्ता गराउने र संविधानसभाले भने सर्वोच्चको निर्णयलाई नोटिसमा पनि नलिइ मस्यौदा लेखनको काम अघि बढाउने रणनीति तय गरेका छन् । स्रोतका अनुसार दलहरुले तय गरेको रणनीतिक अनुसार सोमवार सम्म सरकारका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाले पुनरावलोकन मागको निवेदन सर्वोच्चमा दर्ता गराउने तयारी थालिएको । सर्वोच्चमा प्रधानमन्त्रीले सरकारका तर्फबाट दर्ता गरिने पुनरावेदनको तयारीका लागि कानुनबिदहरु समेत लागेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार सरकारका तर्फबाट पुनरावलोकन माग गर्ने निष्कर्षमा पार्टीहरु पुगेपछि सुशील कोइरालाले शुक्रवार चार राजनीतिक पार्टीहरुका शीर्ष नेताहरुले निकालेको वक्तब्यमा हस्ताक्षर नगरेका हुन् । सो वक्तव्यमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले हस्ताक्षर गरेका थिए । यही रणनीति अन्तर्गत पार्टीहरूले शनिवार मस्यौदा समितिको बैठक जारी राखेको बताइएको छ । सोमबारसम्ममा मस्यौदा संविधानसभामाको पूर्ण बैठकमा लगिसक्ने उनीहरूले तय गरेका छन् । सर्वोच्चको आदेशपछि बरू मस्यौदा समितिमा सहमतिमा पुग्न सजिलो भएको बताइएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आज पोखरा पुगेर सर्वोच्च अदालतको फैसलाले संविधानको मस्यौदा लेखन कार्य नरोकिने बताएका छन् । उनले संविधानसभामार्फत् संविधान बनाउने जनताको चाहना भएकोले अदालतको आदेशले असर नपार्ने उनले स्पष्ट पारे । सर्वोच्चको आदेशपछि १६ बुँदेका हस्ताक्षरकर्ता चार दलका नेताहरू मस्यौदा समितिमा धेरै लचिलो देखिएकाले विवाद समाधान हुन सहज हुने समितिका एक सदस्यको भनाई छ । सर्वोच्चको शुक्रबारको आदेश लगतै बालुवाटारमा बसेको चार दलको बैठकमा नै नेताहरुले सहमति हुन बाँकि बिषयमा मस्यौदा समितिमा चाँडोभन्दा चाँडो सहमति जुटाउने निर्णय गरेका थिए । एमाले सर्वोच्चको आदेशप्रति धेरै नै आक्रामक देखिएको थियो । सो बैठकमा सार्वजनिक रूपमा सो आदेशको प्रतिवाद गर्नुपर्ने अडानमा एमाले रहेको बताइएको छ । तर नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान जारी हुन नदिने तत्व क्रियाशील भएकाले आवेगमा आएर नभई सुझबुझ ढंगले संविधानको प्रक्रिया जारी राख्नुपर्ने धारणा राखेका थिए । पौडेलको भनाईलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि सहमति जनाएपछि सरकारले पुनरावलोकन गर्ने र संविधानसभाले काम जारी राख्ने सहमति भएको हो । दलहरुले सरकारले माग गरेको पुनरावलोकनमा सर्वोच्च अदालतले न्यायाधीश गिरिशचन्द्रलालको फैसला नसच्याएमा जनतामा गएर सुझाव संकलन गरेपछि प्रक्रियामा आवश्यक परिमार्जन गर्ने रणनीति पनि तय गरेका छन् । शुक्रबार न्यायाधीश गिरिशचन्द्रलालको एकल इजलासले पार्टीहरुले गरेको १६ बुँदे सहमतिमा संघीयतासम्बन्धी सहमतिका बुँदाहरू संविधानसँग बाझिएको भन्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम संविधानमा प्रदेशको सीमा, संख्या र संरचना लगायतका राज्य पूनसंरचना र संघीय शासन प्रणालीको स्वरूपसम्बन्धी विषयको अन्तिम टुंगो संविधानसभाले निर्धारण गरे बमोजिम हुने व्यवस्था छ । तर, दलहरुको सहमतिको बुँदा १,२ र ३ ले भने संघीय आयोगले तयार पारेको प्रतिवेदनका आधारमा व्यवस्थापिका संसदको दुई तिहाईले गर्ने भनिएको छ । सर्वोच्चको आदेशले सहमतिको यीनै बुँदालाई अस्वीकार गरेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै