नेभिगेशन
अन्य

दोलखामा एघार प्रहरीको अवस्था अज्ञात

दोलखा । प्रहरी सहायक निरीक्षकसहित ११ जनाको टोली पाँच दिनदेखि सम्पर्कविहीन भएपछि आज जिल्ला प्रहरी कार्यालय दोलखाले दैवी उद्धार समितिसँग खोजी गरिदिन आग्रह गरेको छ । चिलङ्खा र खोपाचागु गाविसका बीचमा रहेको साँवा बजारमा रहेको अस्थायी प्रहरीमा कार्यरत तिनको अवस्था अज्ञात रहेको हो । शनिबार बिहान ११ बजेसम्म नियमित सम्पर्क भएको त्यसपछि हालसम्म प्रहरी नै सम्पर्कमा नआएपछि सो क्षेत्रका अवस्थासमेत स्थानीय प्रशासनले बुझ्न नसकेको जनाइएको छ । चिलङ्खा, आलम्पु, बिगु खोपाचागु गाविसमा के भइरहेको छ, कति नागरिकको मृत्यु भयो या भएन, कति घर भूकम्पले क्षतिग्रस्त भयो भन्नेबारे आजसम्म स्थानीय प्रशासन बेखबर रहेको छ । प्रहरी नायब उपरीक्षक अजय केसीले आज बिहान सदरमुकाम चरिकोटबाट अवस्था खोजीका लागि प्रहरी टोली पठाइएको पत्रकार सम्मेलनमा जानकारी गराए । आज जिल्ला दैवी उद्धार समितिको टोली हेलिकप्टर आएपछि सो स्थानमा पुग्नेसमेत बताइएको छ । यता नागरिक समाज दोलखाले सम्पर्क नभएका गाविसमा तत्काल राहतसहित उद्धार टोली पु¥याउन माग गरेको छ । प्रजिअ प्रेमलाल लामिछानेले आजसम्म सम्पर्क नभएका गाविसका नागरिकको अवस्था सार्वजनिक गरिने वचनबद्धता जाहेर गर्नुभएको छ । बत्ती र टेलिफोनको कारणले मात्र सम्पर्क नभएको लामिछानेले बताए । जिल्ला दैवीउद्धार समिति दोलखाले आजदेखि गाविसका सचिवलाई प्रतिघरपरिवार रु दुई हजार प्रदान गर्न रकम दिएर गाविसमा पठाएको छ । गाविस सचिवका साथ केही राहत पनि पठाउने तयारी भइरहेको उद्धारर समितिका अध्यक्ष एवम् प्रजिअ लामिछानेले बताए । दोलखाका ४८ गाविसमध्ये एक हजारभन्दा बढी घर भएका गाविसलाई पहिलो चरणमा रु १० लाख, एक हजारभन्दा कम घर भएका गाविसलाई रु पाँच लाख, दुई नगरपालिकामध्ये भीमेश्वर नगरपालिकालाई रु २५ लाख र जिरी नगरपालिकालाई रु २० लाख पठाइएको लामिछानेले जनाकारी दिए । चालीस हजार पाल र रु ३० करोड रकम तत्काल उद्धारका लागि आवश्यक भएको र माग गरिरहेको उनले बताए । केन्द्रबाट थोरैको सङ्ख्यामा पाल आएकाले वितरण गर्न अप्ठ्यारो भइरहेको जिल्ला दैवी उद्धार समितिले जनाएको छ । प्रकोपपीडितको उद्धारका लागि हेलिकप्टर आज पनि झिकाइएको स्थानीय विकास अधिकारी रेशमलाल कँडेलले बताए । जिल्लाका चार स्थानमा मात्र जिल्ला दैवीउद्धार समितिले केही सङ्ख्यामा पाल र खाद्यान्न वितरण गरेको जनाइएको छ । लायन्स क्लब दोलखाले पौराणिक सहर दोलखालगायत जिल्लाका केही स्थानमा पाल र खाद्यान्न वितरण गरेको लाइन्स क्लब दोलखाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए । महाभूकम्पका कारण जिल्लाका ८० प्रतिशत सरकारी स्वास्थ्य संस्था क्षतिग्रस्त हुँदा औषधि अभाव भएको छ । जिल्लामा रहेका निजी अस्पताल पनि भग्नावशेष अवस्थामा छन् । गाविस र नगरपालिकामा रहेका ५० प्रतिशत स्वास्थ्य संस्थाबाट औषधिसमेत झिक्न सक्ने अवस्थासमेत नरहेको दैवीउद्धार समितिले जनाएको छ । पाल, गोठ र टनेलमा जम्मा भई समूहमा रात बिताउँदा धेरै सङ्ख्यामा बिरामी परेका दोलखालीले औषधिको समेत मुख देख्न नपाएको गुनासो गरी रहेका छन् । अधिकांश स्वास्थ्यकर्मी जिल्लामा नभएको अवस्थाले पनि थप समस्या नित्याएको छ । भूकम्पपीडितको उपचार झाडा टार्ने काम मात्र भएको छ । ‘गाउँ गाउँमा स्वास्थ्य समस्या जटिल बनिरहेको छ, स्थानीय प्रशासन मौन छ’, पत्रकार चिरञ्जीवी मास्केले भने । जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य अधिकृत हरिहर शर्माले स्वास्थ्य संस्था भूकम्पका कारण ध्वस्त भए पनि दोलखाली नागरिकको उपचार खुल्ला आकाशमुनि पनि गरेर भए पनि अभाव हुन नदिएको जिकिर गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै