नेभिगेशन
अन्य

जाजरकोटमा २४ घन्टाभित्रै उच्चस्तरीय चिकित्सक टोली पठाउन आदेश

काठमाडौं । सर्वाेच्च अदालतले महामारीग्रस्त क्षेत्र जाजरकोटमा २४ घण्टाभित्र उच्चस्तरीय स्वास्थ्यकर्मीको टोली पठाउन अन्तरिम आदेश दिएको छ । सर्वाेच्चले स्वास्थ्यकर्मीको टोलीको साथमा आवश्यक औषधिको व्यवस्थान गरी पठाउन भनेको छ । न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले सिजनल फ्लूको कारण महामारी फैलिएपछि नियन्त्रणको लागि तत्काल कदम चाल्नको लागि प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई मंगलबार आदेश दिएको हो । सर्वोच्चले फ्लूका कारण मृत्यु भएका, मृतकका परिवार र आश्रितलाई उचित क्षतिपूर्ति दिनको लागि उच्चस्तरीय समिति गठन गर्न पनि आदेश दिएको छ । साथै महामारी नियन्त्रणको लागि भएको प्रयास बारेमा अनुगन गरी प्रतिवेदन समेत अदालतलाई दिन आदेशमा भनिएको छ । सर्वोच्चले हरेक १०÷१० दिनमा प्रगति विवरण आदालतमा बुझाउन भनिएको सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले बताए । यसैबीच नेपाली काँग्रेसले जाजरकोटलगायत मध्य पश्चिमाञ्चलका केही जिल्लामा फैलिएको ‘मौसमी रूघाखोकी’ महामारीबाट प्रभावित गाउँमा यथाशीघ्र पर्याप्त औषधिसहितको चिकित्सकको टोली पठाई जनजीवन सामान्य बनाउन सरकार, अन्तराष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायत निकायलाई आग्रह गरेको छ । महामारीलाई यथाशीघ्र नियन्त्रणमा लिन नसकिएमा त्यसबाट उत्पन्न हुने सङ्कट भयावह हुन सक्ने भएकाले पार्टीका सम्बन्धित निकायलाई समेत महामारी रोकथाम र नियन्त्रणमा एकताबद्ध भएर अग्रसर रहन आग्रह गरिएको छ । यस्तै जाजरकोटमा एकै घरमा चार जनाभन्दा बढी मानिस बिरामी हुँदा उपचार गर्न स्वास्थ्य संस्था ल्याउन मुस्किल भएको हो । सोमबार र मङ्गलबार हेलिकप्टरमार्फत चिकित्सकको टोली टालेगाउँ गाविसस्थित शिविर चलाइएको स्वास्थ्यचौकीमा पुगेपछि उपचार गर्न आउनेको संख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यचौकी टालेगाउँमा सोमबार मात्रै १८१ जना, नायकवाडामा १५२ जना, अर्छानीमा ९२ जना बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । आइतबार पनि धेरै बिरामीको उपचार भएको थियो । उपचार गराइरहेका बिरामीमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको टालेगाउँ स्वास्थ्य चौकी प्रमुख प्रेमा लामाले बताउनुभयो । बिरामीमध्ये टालेगाउँ गाविस– ७, ८ र ९ का बिरामी स्वास्थ्य संस्था ल्याउनमा समस्या भएको छ । यो क्षेत्रमा स्वास्थ्य संस्थाभन्दा धेरै टाढा भएका कारण बिरामीलाई स्वास्थ्य शिविरसम्म बोकेर ल्याउनेसमेत कोही छैनन् । टालेगाउँ स्वास्थ्य चौकीका इञ्चार्ज लामाले दिएको जानकारी अनुसार ७, ८ र ९ नं वडामा शिविर चलाउने तयारी भइरहेको छ । जाजरकोट सदरमुकामबाट सोमबार हेलिकप्टरमार्फत औषधि र थप स्वास्थ्यकर्मी थपिएको छ । महामारी प्रभावित स्वास्थ्य संस्थामा बिरामीको संख्या थेग्न नसकेका कारण बाहिर चौरमै राखेर उपचार भइरहेको बताइएको छ । दिनरात उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचार सुरु गरे पनि राज्यका तर्फबाट सेवा सुविधा केही नभएको बताएका छन् । जिल्लाको पजारु, सक्ला र पैंक गाविसमा बिरामीको संख्यामा कमी आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । यस्तै, पजारुमा खटिएका पाटन अस्पतालका डा प्रनिलमान सिंह प्रधान, अर्छानीमा खटिएका चौरजहारी सामुदायिक अस्पतालका डा सुमन राई नेतृत्वको टोली र टालेगाउँमा खटिएका सेनाका डाक्टर डा प्रणय कार्की, सक्ला गाविसमा खटिएको विश्व स्वास्थ्य सङ्गठनका डा गुणनिधि शर्मालगायतका टोली बिरामी भएर सदरमुकाममा फकिर्कका छन् । रोग प्रभावित क्षेत्रमा उपचारमा खटिएका स्वास्थ्यकर्मीको टोलीले हाल चार हजारभन्दा बढी बिरामीको उपचार गरेको सूचना अधिकारी खत्रीले बताए । डा अच्यूत आचार्य र डा ज्ञानेन्द्र नेपालीले आइतबार हेलिकप्टरबाट नायकवाडा र रोकायगाउँको लिम्सामा पुगेर उपचार सुरु गरेका नायकवाडा उपस्वास्थ्य चौकी नायकवाडाका प्रमुख गणेश खड्काले जानकारी दिए । आइतबारदेखि जिल्लाको दशेरा, मजकोट र पजारुमा वीरअस्पतालबाट आएका डा दुर्गा ढुङ्गाना, डा कमलराज थापा, डा कल्याण सापकोटा खटेर उपचार गरिरहेका छन् । पैकमा डा राजेन्द्र जिसी, डा चन्द्र खड्का, डा लक्ष्मी पौडेल, डा विनोद शर्मा, डा भरत बोहरा र डा प्रेम चौधरी उपचारमा खटिएका छन् । आज बिहानैदेखि हेलिकप्टरमार्फत औषधि र डाक्टर पठाउने क्रम जारी रहेको छ । आज पठाएका डाक्टरमा सुभाष योगी, डा कृष्णचन्द्र अधिकारी, डा तिलचना पाण्डे, डा आशिष पौडेल, डा विजय सिंह र डा रमेश जिसी रहनु भएको छ । जाजरकोटमा विगत तीन सातादेखि फैलिएको फ्लूका कारण अहिलेसम्म २६ जनाको मृत्यु भएको छ भने तीन गाँउका अधिकांश मानिस विरामी परेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै