नेभिगेशन
अन्य

संविधानसभा बैठक फेरि केही दिनका लागि स्थगित हुने

काठमाडौँ । पूर्व सांसद् सलिम मियाँ अन्सारीको निधनका कारण संविधानसभाको सोमबारको बैठक कार्यसूचीमै प्रवेश नगर्ने भएको छ । एमाओवादी सहितका प्रतिपक्षी दलहरुले संविधानसभाको प्रक्रिया पर सार्न दवाव दिइरहेका बेला संविधानसभाको लगातारको दोस्रो बैठक पनि शोक प्रस्तावमा मात्र सिमित हुन लागेको हो । यसअघि चैत २३ मा बसेको संविधानसभाको बैठक पूर्व सभासद् रामनाथ ढकाल र पूर्व सांसद महेन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गरी सोमबारसम्मका लागि स्थगित भएको थियो । शोक प्रस्ताव परित गरेको बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने संसदीय अभ्यास छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सोमबारको बैठकपछि थप केही दिन संविधानसभा स्थगित गर्ने संभावना छ । दलहरुबीच नयाँ संविधानका विवादीत अन्तरवस्तुमा सहमति जुट्ने अपेक्षामा उनले बैठकको कार्यसूची तय गरेका छैनन् । उनले दलहरुबीच सार्थक संवाद सुरु भएमा सहमतिका लागि थप समय उपलब्ध गराउने बताउँदै आएका छन् । यसअघि एक साताका लागि बैठक स्थगित गरेको नेम्वाङले दलहरुलाई अन्तिम मौका स्वरुप तीनरचार दिन समय दिने संभावना रहेको संविधानसभा सचिवालय स्रोतले जनाएको छ । संविधानसभाको अर्को बैठक अघि सम्म संविधानका विवादीत अन्तरवस्तुमा सहमति जुटाउन उच्च राजनीतिक तहको छलफल तिब्र भएको छ । प्रधानमन्त्री सुशील कोइराला र नेम्वाङबीचको छलफल पछि आइतबार नेम्वाङ र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच कुराकानी भएको थियो । संविधान निर्माणको गतिरोध तोड्ने विषयमा दुबै छलफल सकारात्मक रहेको बताइएको छ । ‘संविधानसभाको बैठक अघिको समयलाई सदुपयोग गर्नुहोस भन्ने मेरो निरन्तरको आग्रह छ,’ नेम्वाङले भने–‘छलफल धेरै भए अब निर्णय गर्नुपर्छ । हामीसंग धेरै समय बाँकी छैन ।’ उनले सोमबारका लागि प्रमुख दलका नेताहरुको शीर्ष बैठक डाक्ने तयारी पनि गरेका छन् । नेम्वाङसंगको भेटमा एमाओवादी अध्यक्ष दाहालले दलहरुबीचको सहमति पछिका लागि मात्रै संविधानसभाको बैठक बोलाउन आग्रह गरेको उनका स्वकीय सचिव चुडामणी खडाले बताए । प्रस्ताव समिति गठन मार्फत गत माघ ११ देखि सुरु भएको बहुमतिय प्रक्रियामा एमाओवादी सहितका प्रतिपक्षी दलहरु सहभागि छैनन् । शोक प्रस्तावमा मात्र केन्द्रीत हुने निश्चित भएपछि चैत २३ को बैठकमा भने एमाओवादी सहितका प्रतिपक्षी दल सहभागि थिए । संविधानसभामा गत माघ ११ गते सुरु भएको बहुमतिय प्रक्रिया रोक्न उसले दिएको दवाव र नागरिक समाजको आग्रह अनुसार सभाध्यक्ष नेम्वाङले माघ २९ देखि अनिश्चितकालका लागि स्थगित बैठक स्थगित गरेका थिए । सहमति प्रयास असफल भएपछि बहुमतिय प्रक्रिया पुनः अघि बढाउन डाकिएको संविधानसभाको बैठक शोक प्रस्तावमा सिमित भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै