नेभिगेशन
अन्य

यस्तो छ सरकार र प्रा डा केसीबीचको सम्झौता

काठमाडौं । सरकार र त्रिवि शिक्षण अस्पतालमा १२ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीबीच एघारबुँदे सम्झौता भएको छ । सरकारी वार्ता टोलीका तर्फबाट मुख्य सचिव लीलामणि पौड्याल र प्रा डा गोविन्दराज पोखरेल तथा प्रा डा केसी र नेपाल चिकित्सक सङ्घका तर्फबाट डा अञ्जनीकुमार झाले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै अनशनरत शिक्षण अस्पताल हाडजोर्नी विभागमा कार्यरत प्रा डा केसीका लगभग सबै माग सरकारले सम्झौतापत्रमार्फत सम्बोधन गरेको छ । आज भएको सो सम्झौतामा केदारभक्त माथेमा संयोजक रहेको समितिबाट प्रतिवेदन प्राप्त भई स्वास्थ्य नीति बनेपछि सोहीबमोजिम हुने गरी कानुन नबनेसम्म मेडिकल कलेजलाई सम्बन्धन दिने र विस्तार गर्ने कुनै पनि कामकारबाही नगरिने सहमति भएको छ । मेडिकल कलेजको स्वीकृति दिँदा भएको अनियमितता छानबिन गर्न गठित जयराम गिरी नेतृत्वको समितिले दिएको प्रतिवेदन कारबाहीका लागि अख्तियार दु?पयोग अनुसन्धान आयोगमा पठाइने छ । साथै अन्य अनियमिततासम्बन्धी छानबिनका लागि पुनरावेदन अदालतका पूर्वन्यायाधीश संयोजक रहेको एक छानबिन आयोग सात दिनभित्र गठन गरिने र समितिको प्रतिवेदनका सिफारिस अविलम्ब कार्यान्वयन गर्ने सहमति भएको छ । सम्झौतामा चिकित्सा विश्वविद्यालय विधेयक आगामी तीन महिनाभित्र संसद्मा पेस गरिने र स्वास्थ्य शिक्षा नीतिनिर्माणका लागि बनेको समितिको प्रतिवेदन कार्यान्वयन गरिने उल्लेख छ । चिकित्सा क्षेत्रका पदाधिकारी विशिष्टता र वस्तुनिष्ठ आधारमा नियुक्त गर्न राजनीतिक प्रतिबद्धता गरिने तथा सो प्रतिबद्धता कार्यान्वयन गर्न चार महिनाभित्र कानुनी व्यवस्था गरिने सहमति भएको छ । मापदण्ड पूरा नगर्ने मेडिकल कलेजलाई पुनःमूल्याङ्कन गरेर असम्बधन गर्न सकिने स्पष्ट नीतिगत व्यवस्था सिफारिस गर्न केदारभक्त माथेमाको संयोजकत्वमा रहेको समितिलाई कार्यादेश थप्ने सम्झौतापत्रमा उल्लेख छ । सो सम्झौतापत्रमा स्वास्थ्य सेवाका लागि आवश्यक चिकित्साशास्त्र र अन्य सम्पूर्ण विषयका सबै तहमा वैज्ञानिक शुल्क निर्धारण गर्न माथेमा संयोजक रहेको समितिलाई थप अधिकार दिने र सो सिफारिस आगामी शैक्षित्रसत्रदेखि लागू गरिने उल्लेख छ । सरकारी शिक्षण संस्थामा एमडी, एमएस, एमडिएस, डिएम र एमसिएच तहमा शैक्षिक सत्र २०७२÷०७३ देखि अध्ययन गर्ने विद्यार्थीलाई समावेश गर्नेगरी निःशुल्क गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था मन्त्रालयले गर्ने सहमति भएको छ । पाँचै विकास क्षेत्रमा आगामी पाँच वर्षमा कम्तीमा एक एक सरकारी मेडिकल कलेज हुने नीति लिइने र आगामी आवमा मध्यपश्चिममा एक मेडिकल कलेज स्थापना कार्यलाई अगाडि बढाउने पनि सम्झौता भएको छ । काठमाडौँ विश्वविद्यालयबाट दिइएको विस्तारित कार्यक्रम सम्बन्धमा कानुनी प्रक्रिया पुर्याई स्थगन गर्नेतर्फ कारबाही चलाइने र त्यसपछि अध्ययनरत विद्यार्थीको उपयुक्त व्यवस्थापन गरिने जनाइएको छ । नेपाल चिकित्सक सङ्घसँग गरिएका सम्झौता र सङ्घले उठाएका मागमध्ये सम्झौता भएका मागमा यसैअनुसार हुने र बाँकी विषयलाई सम्बन्धित मन्त्रालयमा सम्बोधन र कार्यान्वयनका लागि पठाइने सम्झौतापत्रमा उल्लेख छ । एघारबुँदे सो सम्झौतापत्र कार्यान्वयनका लागि मुख्य सचिवको संयोजकत्वमा चिकित्सक सङ्घका अध्यक्ष झा र प्रा डा वाइपी सिंह सदस्य रहेको कार्यदल गठन गरिने र प्रा डा केसीले विभिन्न माग राखी गरेको अनशन तथा सङ्घले आह्वान गरेको आन्दोलन आजैदेखि समाप्त गर्ने सहमति भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै