नेभिगेशन
अन्य

न्यूनतम साझा बिन्दु खोजेर छिटो संविधान देऊ : राष्ट्रपति

वीरगन्ज । राष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलबीचको सहमतिमा देशमा चाँडै संविधान जारी होस् भन्ने कामना गरेका छन् । भगवान् महावीरको दुई हजार ६१४औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले भने–‘दलीय सहमतिमा मुलुकमा शीघ्र संविधान बनेर राष्ट्र शान्ति, प्रगति र समृद्धिको मार्गमा अग्रसर होस् भन्ने नेपाली जनताका तर्फबाट कामना गर्न चाहन्छु ।’ राष्ट्रपतिले नेपाली जनताको चाहना मुलुकमा शान्ति, स्थायित्व र विकास भएकाले परिवर्तनका संवाहकका ?पमा रहेका राजनीतिक दलले यसलाई उच्च सम्मान गरी अघि बढ्नुपर्नेमा जोड दिए । ‘अहिले अलमल गर्ने बेला होइन, नेपालीको त्यो चाहनालाई पूरा गर्नका लागि राजनीतिक दलहरुले न्यूनतम साझा बिन्दु खोजेर एकता र सहमतिका आधारमा मुलुकमा छिटोभन्दा छिटो संविधान बनाऊ’ उनले भने, ‘हामी कोही मधेसी छैनौँ, पहाडी र हिमाली पनि छैनाँै, पहिला हामी सबै नेपाली हौँ, यो सन्देशलाई हामी सबैले बुझ्नुपर्छ ।’ उनले जाति, क्षेत्र र पार्टीभन्दा माथि उठेर राष्ट्र र नेपाली जनताको विकास र समृद्धिको बाटामा लाग्न सबैमा आग्रह गरे । राष्ट्रपतिले आर्थिक प्रगति र उन्नतिको बाटामा अग्रसर भएका हाम्रा दुई छिमेकी भारत र चीनको बीचमा रहेको अति सुन्दर मुलुक नेपालले पनि आफ्नो विकास र समृद्धिका लागि शान्ति, स्थिरता र सामाजिक सद्भावको बाटामा लाग्नुपर्नेमा जोड दिए । राष्ट्रपति डा यादवले हिंसा, पशुबलि, जातिपाती भेदभावको बोलवाला रहेको बेला जैनधर्मका प्रवद्र्धक महावीरले सत्य, अहिंसाजस्ता मूलभूत उपदेशका माध्यमबाट दुनियाँलाई सही बाटो देखाउने प्रयास गर्नुभएको उल्लेख गर्दै दर्शन, कला, र साहित्यका धनी जैन संस्कृतिले निष्ठापूर्वक समाज सञ्चालन गर्न मानव मात्रलाई एक महत्वपूर्ण जीवनशैली प्रदान गरेको हामी सबैले अनुभूत गरेका बताए । सो अवसरमा आचार्य महाश्रमणले कुनै पनि राष्ट्र र समाजको उन्नति तथा प्रगतिका लागि शान्ति, सद्भाव, अहिंसा र नैतिकता अपरिहार्य भएको हुँदा यस मार्गमा लाग्न सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा जैन श्वेताम्बर तेरापन्थी सभा वीरगन्जका अध्यक्ष अशोक वैद्यले पनि सम्बोधन गरेका थिए । सद्भावनाको संप्रसार, नैतिकताको प्रचारप्रसार र नशामुक्ति अभियानको मूल उद्देश्य लिएर गत कात्तिक २३ मा भारतको राजधानी नयाँ दिल्लीबाट सुरु भएको सो अहिंसा पदयात्रा भारतका हरियाणा, उत्तर प्रदेश, मध्यप्रदेश र विहारका विभिन्न सहर हुँदै यही चैत १७ गते नेपालको वीरगन्ज प्रवेश गरेको थियो । यो पदयात्रा वीरगन्जबाट हेटौँडा, दामन, पालुङ, नौबिसे र थानकोटको बाटो हुँदै आगामी वैशाख ७ गते काठमाडौँ पुग्ने कार्यक्रम रहेको बताइएको छ । करिब एक महिना काठमाडौँको विश्रामपछि सो यात्रा विराटनगर हुँदै भारत र भुटानमा समेत जाने बताइएको छ । नेपाल, भारत र भुटानमा दश हजार किमीभन्दा बढीको पदयात्रा हुने जैन श्वेताम्बर तेरापन्थीसभा वीरगन्जका अध्यक्ष अशोक वैधले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै