नेभिगेशन
अन्य

संविधान निर्माणमा जुट्न कोइरालाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधान निर्माणमा जुट्न सबै राजनीतिक दलहरूलाई पुनः आह्वान गरेका छन्। गिरिजाप्रसाद कोइरालाको पाँचौं स्मृति दिवसका अवसरमा शनिबार साँझ सन्देश जारी गर्दै प्रधानमन्त्रीसमेत रहेका कोइरालाले संविधानका प्रमुख विवादित विषयमा सत्तापक्ष र प्रतिपक्ष दुई खेमामा विभाजित बनेको अवस्थामा वार्ता र छलफलबाट मतभेद हटाउन सकिने उल्लेख गरेका छन्।‘संविधानसभामा प्रतिनिधित्व गर्ने समस्त राजनीतिक दल र सम्बद्ध नेताहरूलाई २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनको मर्मलाई आत्मसात गरी २०७० साल मंसिरमा सम्पन्न संविधानसभामा प्राप्त जनादेशअनुसार संविधान निर्माण गर्ने क्रममा देखिएका मतान्तरलाई वार्र्ता, संवाद, सहकार्य, मेलमिलाप र एकताका माध्यमबाट कम गर्दै जानुपर्छ,’ कोइरालाको सन्देशमा भनिएको छ, ‘जनअपेक्षाअनुरूप संविधान निर्माण गरी जारी गर्ने कार्यमा सरिक र सक्रिय हुन सबैलाई आग्रह गर्दछु।’ कोइरालाले समयमै संविधान जारी गर्न सके मात्र संघीयता, गणतन्त्र र समावेशितासहितको लोकतान्त्रिक व्यवस्थाजस्ता ऐतिहासिक उपलब्धि संस्थागत हुने बताए। ‘संविधानले नै अधिनायकवादी र निरंकुश शासनविरुद्ध दशकौं लामो आन्दोलनबाट हासिल भएका संघीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संस्थागत गर्नेछ,’ सन्देशमा छ, ‘ऐतिहासिक उपलब्धिलाई संविधानसभाबाट बन्ने संविधानमा संस्थागत गरेपछि हाम्रो ध्यान मुलुकको विकास तथा जनताको सुख, शान्ति र समृद्धिमा केन्द्रित हुनेछ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्