नेभिगेशन
अन्य

जनताले नचाहेको आन्दोलनको तुक छैन :अध्यक्ष राणा

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर विपक्षी दलले घोषणा गरेको आन्दोलनको तुक नभएको बताएका छन् । रफत् सञ्चार क्लब भक्तपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले जनताले आन्दोलन नचाहेको बेलामा घोषणा गरेको आन्दोलनले कुनै प्रभाव नपार्ने बताएका हुन् । राप्रपा अध्यक्ष राणाले भने, ‘यतिखेर देश र जनताले आन्दोलन होइन, संविधान खोजिरहेको छ, आन्दोलनले संविधान दिँदैन, जनताले नचाहेको आन्दोलनको अर्थ छैन, वार्र्ताबाटै निकास खोज्नुपर्छ ।’ एमाओवादी नेतृत्व ३० दलीय मोर्चा वार्ता छाडेर आन्दोलनको घोषणा गर्नु दुर्भाग्य भएको उनको भनाइ थियो । यो आन्दोलनले देशलाई राम्रो नगर्ने बताउँदै उहाँले सत्तापक्षले संविधान निर्माणको प्रक्रिया सुरु गर्नुअघि विपक्षी मोर्चासँग वार्ताको अन्तिम प्रयास गर्नुपर्ने बताए । सत्तापक्ष र विपक्षीबीच विवादित पाँच जिल्लाका विषयमा मात्रै कुरा नमिलेको बताउँदै राणाले भने, ‘विपक्षी आन्दोलनमा गए पनि सरकारले सहमतिका लागि अन्तिम प्रयास अगाडि बढाउनुपर्छ, एकपटक फेरि विपक्षीलाई वार्तामा ल्याउनुपर्छ, विवादित पाँच जिल्लालाई सहमतिका लागि विकल्प खोजिनुपर्छ ।’ सरकारले अन्तिमपटक सहमतिको प्रयास गर्दा पनि विपक्षी सहमतिमा नआए प्रक्रियालाई नै अगाडि बढाएर संविधान दिइनुपर्ने उनको भनाइ थियो । राप्रपा र राप्रपा नेपालबीचको एकीकरणका बारेमा बोल्दै उहाँले ठूला दल असफल भएको निष्कर्ष निकाल्दै देश र जनताले खोजेको नयाँ शक्तिका रूपमा उदाउन दुई पार्टी एकीकरणका लागि अगाडि बढेको बताए । राणाले भने, ‘देशले नयाँ शक्ति खोजेको छ, त्यो शक्ति हामी हुन सक्ने भएकाले दुई पार्टी एकीकरण गर्न लागेका हौँ ।’ राप्रपा नेपाल संवैधानिक राजसंस्था भनेर आएको र राप्रपाले गणतन्त्र स्वीकारिसकेको अवस्थामा यो एउटा विषयलाई कसरी टुङ्गोमा पुर्याउने भन्ने विषयमा छलफल भइरहेको बताउँदै उहाँले यो विषयमा सहमति हुनेबित्तिकै पार्टी एकीकरण हुने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्