सिड्नी । नेपालको समृद्धि, आर्थिक विकास र भविष्य निर्माणमा विश्वभर छरिएर रहेका नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी तथा अनुभवलाई प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यसहित अस्ट्रेलियामा ‘IIDS Niti Daudaha Goes Global: Australia’ कार्यक्रम सम्पन्न भएको छ।
गैरआवासीय नेपाली संघ (NRNA) अस्ट्रेलिया र NRNA को सीप, ज्ञान तथा नवप्रवर्तन (Skills, Knowledge and Innovation–SKI) समितिको संयुक्त आयोजनामा आइतबार, नोभेम्बर १५, २०२६ का दिन मेरिल्यान्ड्सस्थित NRNA अस्ट्रेलियाको कार्यालयमा कार्यक्रम आयोजना गरिएको हो।
‘Role of Nepali Diaspora in the Next Nepal’ अर्थात् ‘नेपाल निर्माणमा नेपाली डायस्पोराको भूमिका’ विषयमा केन्द्रित कार्यक्रममा नेपाल र नेपाली डायस्पोराबीच ज्ञान आदानप्रदान, लगानी, उद्यमशीलता तथा संस्थागत सहकार्यका सम्भावनाबारे महत्वपूर्ण छलफल भएको थियो।
कार्यक्रमका मुख्य वक्ता नेपालस्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (IIDS) का कार्यकारी अध्यक्ष डा. विश्वास गौचन, FCA ले नेपालको समग्र विकासमा प्रवासी नेपालीको भूमिका र सम्भावनाबारे आफ्नो प्रस्तुति दिएका थिए। उनले विदेशमा रहेका नेपालीले विभिन्न क्षेत्रमा हासिल गरेको ज्ञान, सीप, व्यावसायिक अनुभव, प्रविधि तथा पुँजीलाई नेपालको विकाससँग जोड्नु आवश्यक रहेको विषयमा जोड दिएका थिए।
कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA ICC) का उपाध्यक्ष दिनेश पोखरेलले प्रवासी नेपालीहरू नेपालको विकासका महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै विश्वभर रहेका नेपालीको सामूहिक शक्ति र क्षमतालाई मातृभूमिको हितमा परिचालन गर्नुपर्ने धारणा राखेका थिए। उनले आपसी एकता, सहकार्य र समन्वयमार्फत नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा डायस्पोराले महत्वपूर्ण योगदान दिन सक्ने बताए।
कार्यक्रमका सभापति तथा NRNA SKI (Skills, Knowledge and Innovation) समितिका संयोजक डा. रामकृष्ण निरौलाले समापन मन्तव्य राख्दै कार्यक्रमले नेपाल र विदेशमा रहेका नेपालीबीच ज्ञान, सीप, अनुभव तथा नवप्रवर्तनको आदानप्रदानका लागि महत्वपूर्ण अवसर प्रदान गरेको बताए। उनले विदेशमा रहेका दक्ष जनशक्ति, विज्ञ, उद्यमी तथा लगानीकर्ताको क्षमता नेपालको विकाससँग जोड्न यस्ता संवाद र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नेपालको विकासका सम्भावना, लगानीका अवसर, उद्यमशीलताको प्रवर्द्धन, ज्ञान तथा सीप हस्तान्तरण र संस्थागत सहकार्यका विषयमा आफ्ना विचार, अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए।
NRNA अस्ट्रेलियाले कार्यक्रममा सहभागी भई आफ्ना महत्वपूर्ण विचार तथा अनुभव साझा गर्ने सम्पूर्ण अतिथि र सहभागीहरूप्रति आभार व्यक्त गरेको छ। साथै, कार्यक्रमको समन्वय, मूल्याङ्कन तथा सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने NRNA SKI समितिलाई पनि विशेष धन्यवाद दिएको छ।
नेपालको विकास र समृद्धिका लागि देशभित्रको प्रयाससँगै विश्वभर रहेका नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि र अनुभवलाई एकीकृत गर्नु अपरिहार्य रहेको सन्देश कार्यक्रमले दिएको छ।