नेभिगेशन
अन्य

एमाओवादी नेतृत्वको मोर्चाको बैठक बस्दै

काठमाडौं । सहमतिको वातावरण बनाउन सत्तारुढ दलहरुलाई दिएको समयसीमा शनिबार सकिएपछि आगामी आन्दोलनका कार्यक्रम घोषण गर्न एमाओवादी नेतृत्वको मोर्चाको बैठक बस्दैछ । सत्तारुढ दलहरुले संविधानसभामा सुरु गरेको बहुमतीय प्रक्रिया खारेज गरी सहमतिमा संविधान निर्माण गर्ने वातावरण माग गर्दै पहिलो चरणको आन्दोलन गरिसकेको मोर्चाले आइतबार सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा बस्ने बैठक मार्फत दोश्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो । आइतबार दिउँसो एक वा दुई बजे बस्ने बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम निश्चित भएको मोर्चा प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए । यसअघि प्रधानमन्त्री सुशील कोइराला र मोर्चा संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच हुने छलफलमा सहमति जुटे आन्दोलनको कार्यक्रम घोषणा नगरिने उनले बताए । श्रोतका अनुसार प्रधानमन्त्री र दाहालबीच हुने छलफलमा सहमति जुट्ने सम्भावना नदेखेको मोर्चाले आन्दोलनको कार्यक्रम आइतबार घोषणा गर्ने तयारी गरेको छ । आन्दोलनको कार्यक्रमका प्रकृतिका बारेमा खुलाउन नचाहेका मोर्चाका प्रवक्ता सिंहले पनि सत्तारुढ दलहरुले सहमति नजनाए आइतबार छलफलमात्रै होइन मोर्चाले आन्दोलनको कार्यक्रम नै घोषणा बताए । सत्तारुढ दलहरुले गएको माघ ११ गते संविधासभामा बहुमतीय प्रक्रिया सुरु गरेसँगै संविधानसभा बैठक बहिस्कार गरी विपक्षी मोर्चा आन्दोलनमा उत्रिँदा संविधानसभा बैठक माघ २९ गते देखि बस्न सकेको छैन । जसले गर्दा संविधान निर्माण कार्य अवरुद्ध भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्