नेभिगेशन
अन्य

आयल स्टोर्स नहुँदा किराना पसलमा पेट्रोल

सल्लेरी । सोलुखुम्बु जिल्लामा पेट्रोल पम्पको व्यवस्था नहुँदा उपभोक्ता किराना पसलबाट पेट्रोलियम पदार्थ खरिद गर्न बाध्य छन् । दैनिक काठमाडौँ र तराईबाट २०० को हाराहारीमा सवारीसाधन जिल्ला भित्रिने गरेको भए पनि सवारीसाधनमा प्रयोग हुने इन्धनका लागि पेट्रोल पम्पको व्यवस्था नहुँदा आफूहरु मर्कामा परेको सवारी धनीले गुनासो गरेका छन् । मोटरसाइकल चालकले सल्लेरीमा रहेका विभिन्न किराना पसलबाट पेट्रोलियम पदार्थ खरिद गर्ने गरेका छन् भने डिजेलबाट चल्ने सवारीसाधनमा पनि ड्रमबाट इन्धन भर्ने गरिएको छ । सोलुखुम्बुका विभिन्न किराना पसलमा मिनिरल वाटरको बोतलमा पेट्रोल भरेर रु १७० प्रतिलिटर पेट्रोल बेच्ने गरिएको छ । यसरी बेचिँदा मिसावट हुने सम्भावना रहेको उपभोक्ताको गुनासो छ । विकट हिमाली जिल्ला सोलुखुम्बु सडक सञ्जाल जोडिएको करिब पाँच वर्ष बितिसक्दा पनि यसतर्फ प्रशासन तथा सरोकारवालाको ध्यान गएको देखिँदैन । करिब डेढ वर्ष पहिले इन्धन बिक्रीका लागि नेपाल आयल निगममा दर्ता भएको दूधकोसी आयल स्टोर्स नामक संस्थाले पम्प राख्ने इजाजत पत्र पाए पनि सञ्चालनमा खासै चासो देखाएको छैन । यता जिल्ला प्रशासन कार्यालयले पेट्रोल पम्पको व्यवस्था नहुँदा किराना पसलबाटै पेट्रोल बिक्री गरेको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता भएको जनाएको छ । बजार अनुगमन व्यवस्थापन समितिका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुकुमारी भट्टराईले पेट्रोलका लागि कसैले इजाजतपत्रसमेत नलिएकाले उपभोक्तालाई मर्का नपर्ने गरी व्यवस्थित गर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...