नेभिगेशन
अन्य

श्रमिकको पैसामा नेता बिदेश सयर गर्ने लागेकोमा श्रमसचिवलाई अख्तियारले बोलायो

काठमाडौं । वैदेशिक रोजगार प्रवर्दन बोर्डले कल्याणकारी कोषको पैसा दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम तथा रोजगार मन्त्रालयका सचिवलाई सात दिन भित्र कोषबाट भएको खर्चको विवरण सहित आयोगमा उपस्थित हुन पत्राचार गरेको छ । बैदेशिक रोजगारीमा गएका श्रमिकहरुको कल्याणको लागि बैदेशिक रोजगार नियमावली २०६४ अनुसार कल्याणकारी कोषको सञ्चालनमा आएको छ । उक्त कोषमा भएको रकम वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारबाट फर्कीआएका कामदारका परिवारको शैक्षिक विकास गर्न, स्वास्थ्य उपचारमा सहयोग गर्न, महिला कामदारको बालबच्चाको उचित संरक्षणका लागि शिशुस्याहार केन्द्रको स्थापना गर्न र तालिम संचालन लगायत कार्यका लागि प्रयोग गर्ने गरेको छ । तर बोर्डका कर्मचारीले कोषको रकम वैदेशिक भ्रमण लगायत अन्य शिर्षकहरुमा खर्च गरिएको भन्दै आयोगको मन्त्रालयलाई पत्राचार गरेको आयोजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोषको रकमबाट बैदेशिक भ्रमण, सवारी साधन खरिद, मर्मत वा इन्धन जस्ता शिर्षकहरुमा खर्च लेखिएमा त्यसरी लेखिएको खर्चको बिल भरपाईको भुक्तानी जुनसुकै नाममा गरे गराएको भएतापनि त्यस्तो कार्यलाई अनियमित मानि निर्णय गर्ने र खर्च लेख्ने जिम्मेवार पदाधिकारीहरुबाट असुल उपर गरिने आयोगको भनाई छ । बोर्डको निर्णय अनुसार कोषको रकमबाट बैदेशिक भ्रमणमा गएका पदाधिकारीहरुको नाम सहितको विवरण र कोषबाट भएको अन्य खर्चहरुको बिस्तृत विवरण समेत सात दिन भित्रमा आयोगमा पेश गर्न श्रम तथा रोजगार मन्त्रालयका सचिवलाई आयोग ऐन २०४८ को दफा २८ बमोजिम पत्राचार गरेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्