नेभिगेशन
अन्य

गरिबी निवारण कोषमा झण्डै ११ करोड भ्रष्टचार,कार्यकारी निर्देशकसहित १४ विरुद्ध मुद्दा

काठमाडौँ । गरिबी निवारण कोषका निलम्बित कार्यकारी निर्देशक राजबाबु श्रेष्ठसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अख्तियारले कोषका कार्यकारी निर्देशक श्रेष्ठले २ करोड ८३ लाख ५५ हजार हिनामिना गरेको आरोप लगाएको छ । उसले श्रेष्ठसंग त्यति नै विगो र जरिवाना माग गरेको छ । अख्तियारका अनुसार लेखा अधिकृत प्रविन घिमिरेबाट २ करोड ७६ लाख ७३ हजार माग गरेको छ । प्रशासन तथा वित्त प्रमुख मनोज पिपालुबाट २ करोड ६५ लाख २९ हजार भराउन अख्तियारले विषेश अदालतसंग माग गरेको छ । त्यस्तै, कार्यप्रवन्धकहरु लालबहादुर शिवाबाट ४३ लाख ६१ हजार, धनराज साहबाट २६ लाख ६७ हजार, अजय कुमार पटेलबाट २३ लाख १८ हजार,सञ्जय कुमार झाबाट ५१ लाख ४३ हजार,जयराजपन्तबाट २७ लाख ५४ हजार, सन्दीपनाथ उप्रेतीबाट १५ लाख २२ हजार,अखिलेश चन्द्र दासबाट ३८ लाख ८८ हजार, हरेराम वाग्लेबाट २७ लाख ९६ हजार र दुर्गबहादुर गान्धरीबाट २५ लाख ९ हजार विगो भराउन अख्तियारले विषेशसंग माग गरेको छ। त्यसैगरी लेखा अधिकृत दिलिपराज जोशीसंग २० लाख ८४ हजार र लेखा सहायक सतिश कुमार चौधरीबाट ३० लाख ५६ हजार विगो माग गरेको छ । आर्थिक वर्ष २०६६/६७ देखि २०६८/६९ सम्म व्यापकरुपमा अनियमितता भएको भनी परेको निवेदन उपर छानबिन हुँदा आर्थिक वर्ष २०६६÷६७ मा ५५ लाख नौ हजार २ सय २८, आव २०६७/६८ मा एक करोड २१ लाख ५४ हजार २०७४ र आव २०६८/६९ मा रु एक करोड एक लाख ९८ हजार ५९ समेत गरी तीन आर्थिक वर्षको अवधिमा जम्मा दुई करोड ७८ लाख ६१ हजार ३ सय ६१ हिनामिना भएको देखिन आएको आयोगले जनाएको छ । कोषका कार्यप्रवन्धकले फिल्डमा कार्यक्रम सम्पन्न गरेको भनी पेस्की फछ्र्यौटका लागि पेस गरेका कागजातमा सहभागी भएका भनिएका व्यक्तिको सहभागिता पुष्टी हुने कुनै आधार तथा प्रमाण नदेखिएको, तालिमलगायतका अन्य कार्यक्रम सञ्चालन गर्दा समेत प्रशिक्षकको योग्यता तथा छनोट विधि, कार्यक्रम सञ्चालन समय तालिका, तालिमको विषयवस्तु, प्रशिक्षकले पेस गरेको कार्यपत्र आदि संलग्न गरेको नभेटिएको आयोगले जनाएको छ । सामान्य बैठक र छलफलमा सहभागीको झुठो उपस्थिति तयार गरी त्यसबापत भएको खर्च भनी बिल पेस गरेर भुक्तानी लिने गरेको, प्रमाण गरी सहभागीलाई दैनिक भ्रमण भत्ता भुक्तानी दिनुपर्नेमा सो संलग्न नगरिएको, हल नै नभएको स्थानमा कार्यक्रम सञ्चालन गरेको भनी देखाइएको समेतका तथ्यबाट हुँदै नभएको कार्यक्रमको नाममा झुठा बिल भरपाइ पेस गरी भुक्तानी लिएदिएको देखिएको आयोगले जनाएको छ । कार्यप्रबन्धकहरुको कोषसँग भएको करार सम्झौताको सर्त तथा कोषको कार्यविधि अनुरुप कुल कार्य दिनको ६० प्रतिशत समय फिल्डमा नै बसेर कार्य गर्नुपर्ने दायित्व तथा जिम्मेवारी भएका कार्यप्रबन्धकले सो सर्त बमोजिमको कार्य दिन फिल्डमा नबसी काम नै नगरी फिल्डमा गई कार्यक्रम सञ्चालन गरेको भनी झुठा कागजात तयार गरी पेस गरेको देखिएको आयोगले जनाएको छ । पेस्की फछ्र्यौटका लागि पेस भएका झुठा बिल भरपाइसमेतका कागजातलाई लेखा सहायक सतिशकुमार चौधरीसमेतको मिलेमतोमा, बदनियतपूर्वक कागजात तयार गरी वित्त तथा प्रशासन प्रमुख मनोज चिपालुबाट रुजु भई कार्यकारी निर्देशक राजबाबु श्रेष्ठ समक्ष पेस गरी स्वीकृत गर्ने कार्यमा संलग्न १४ जनाविरुद्ध आरोपपत्र दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, भक्तपुरका विद्यालय निरीक्षक कोमलनाथ घिमिरेले घुस लिदेलिदै आज पक्राउ गरेको छ । भक्तपुरको पलासेस्थित बालगणेश इङ्लीस स्कुलको कक्षा स्तरोन्नती गर्नका लागि घिमिरेले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले ३० हजारसहित मध्यपुर ठिमीको एक चियापसलबाट नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै