नेभिगेशन
अन्य

दुई राप्रपाको एकताको लागि पहिलो वार्ता आज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकताका लागि गठन गरेको वार्ता समितिको पहिलो बैठक आज हुँदैछ । सिंहदरबारस्थित राप्रपा नेपालको संसदीय दलको कार्यालयमा हुने बैठकमा एकताको विषयमा प्रारम्भिक छलफल हुनेछ । ‘आजको बैठकमा एकताको मोडल र सैद्धान्तिक पक्षका विषयमा छलफल हुनेछ’ राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले भने । पार्टी एकताको विषय अघि बढाउन दुबै पक्षले वार्ता टोली बनाएका छन् । राप्रपा नेपालले सहअध्यक्ष केशरबहादुर विष्टको संयोजकत्वमा उपाध्यक्षहरु निरञ्जन थापा, डा. धवलशम्सेर राणा, महामन्त्री चन्द्रबहादुर गुरुङ र केन्द्रीय सदस्य राजेन्द्र लिंदेन सदस्य रहेको समिति बनाएको छ । त्यस्तै राप्रपाले महामन्त्री दीपक बोहराको संयोजकत्वमा वुद्धिमान तामाङ, ठाकुर शर्मा र किरण गिरी रहेको समिति बनाएको छ । अध्यक्ष कमल थापाको बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने भन्दै बढाएको पहल कदमीलाई राप्रपाले पनि साथ दिएपछि दुई पार्टीबीच एकता प्रक्रिया अघि बढेको सहप्रवक्ता श्रेष्ठले बताए । दुबै पार्टीका सबै भातृ संगठनहरुले बुधबार नै एकता प्रक्रियालाई सघाउदै संयुक्त वक्तब्य जारी गर्ने तयारी गरेका छन् । २०६२ सालमा राप्रपाबाट बिभाजन भएर कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्