नेभिगेशन
अन्य

हुलाकी राजमार्गको ठेकेदार भागेपछि अर्को संझौताको तयारी

काठमाडौं । भारतको सहयोगमा बन्न लागेको हुलाकी राजमार्गअन्तर्गतको ६ मध्ये ५ प्याकेजका ठेकेदार भागेपछि सरकारले समझदारीपत्र परिवर्तनको तयारी गरेको छ। सहयोग रकम नेपाल सरकारमार्फत नै ठेकेदारलाई भुक्तानी गर्ने गरी एमओयू परिवर्तनको तयारी थालिएको हो। ‘ठेक्का पाएकामध्ये १ प्याकेजको ठेकेदारले मात्रै काम गरिरहेको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले भने, ‘सबै गरेर अहिलेसम्म ६ प्रतिशत मात्रै काम सकिएको छ।’ भारतसँगको सम्झौताअनुसार सन् २०१४ को सुरुमा उक्त आयोजनाको सबै काम सकिसक्नुपर्ने हो। त्यसमध्ये पहिलो प्याकेजअन्तर्गतको धनगढी–कर्णालीको काम मात्रै भइरहेको छ। ‘बाँकी सबै प्याकेजको काम १० प्रतिशतभन्दा मुनि छ’ु सडक विभागका आयोजना निर्देशक चन्द्रनारायण यादवले भने, ‘कामै हुन नसकेपछि एमओयू परिवर्तनको तयारी भएको हो। भारतसँग मस्यौदा आदानप्रदान भइसकेको छ। केही संशोधनको काम मात्रै बाँकी हो।ु उनका अनुसार अबको करिब २ महिनामा एमओयू परिवर्तनको टुंगो लाग्नेछ। दूतावाससँग पनि छलफल गर्न बाँकी छ,’ उनले भने, ‘हामीले प्रारम्भिक मस्यौदा बनाएर उता पठाइसक्यौं। केही संशोधन भएर आइसकेको छ। अब हामीले छलफल गरी टुंग्याउन बाँकी छ।’ सन् २०१० मा ठेक्का लगेको हो। परिवर्तन गर्न लागिएको एमओयूअनुसार ठेकेदार छनोट र रकम भुक्तानीको विषयमा नेपालकै जिम्मा हुनेछ। परामर्शदाता भने भारतकै राख्ने प्रस्ताव छ। उक्त विषयमा थप अख्तियारी नेपाललाई नै दिनका लागि एमओयू परिवर्तनको तयारी थालिएको हो। उक्त सडक भारतले बनाउने सम्झौता करिब २४ वर्षअघि भएको हो। तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरको नेपाल भ्रमणका क्रममा हुलाकी मार्ग बनाउने सम्झौता भएको हो। १८ वर्षपछि निर्माणको अध्ययन भएको थियो। त्यसमध्ये न्यून मात्रामा मात्रै सडक कालोपत्रे भएको छ। यसको जम्मा लम्बाइ १५ सय किलोमिटर छ। कान्तिपुरमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्