नेभिगेशन
अन्य

आन्दोलनमा जान नहतारिनुस :उपसभापति पौडेल

चितवन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले विपक्षी मोर्चालाई दोस्रो चरणका आन्दोलनमा जान नहतारिन आग्रह गरेका छन् । गणेशमान सिंहको जन्मसताब्दीको अवसरमा नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले मंगलवारदेखि चितवनको सौराहामा सुरु गरेको समावेशी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपसभापति पौडेलले एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै विहीबारबाट विपक्षी मोर्चासंग वार्ता हुने बताए । सत्तारुढ दल तथा विपक्षी मोर्चाका दलहरूबीच एजेण्डागतरुपमा वार्ता हुने भएकाले संविधान निर्माण हुने नयाँ गन्तव्य भेटिने जिकिर उनले गरे । उहले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई टेलिफोनमार्फत आन्दोलनमा जान नहतारिन आग्रह गरेको बताउँदै भने, ‘नहतारिनुहोस, वार्ता गर्ने हो, वार्ताबाटै सहमति खाज्ने हो ।’ उपसभापति पौडेलले मधेस केन्द्रित दलहरूको अडानले गर्दा पूर्वका तीन जिल्ला तथा पश्चिमका दुई जिल्ला पहाड वा तराईमा मिलाएर संघीय संरचना बनाउने विषयमा सहमति जुट्न नसकेको उल्लेख गरे । उनले आगामी चैत २० गतेदेखि गणेशमान बलिदान यात्रा चितवनको माडीबाट सुरु गरिने बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, प्रदीप पौडेल, दीपक गिरी र जीवन परियारले गाउँस्तरदेखिनै नेतृत्वकर्ता प्रशिक्षित हुनुपर्नेमा जोड दिएका थिए । सौराहमा तीन दिनसम्म चल्ने प्रशिक्षणमा लुम्बिनी अञ्चलका नवलपरासी र नारायणी अञ्चलका सवै जिल्लाका हरेक निर्वाचन क्षेत्रबाट पाँच÷पाँचजना महाधिवेशन प्रतिनिधि सहभागी रहेका छन् । प्रशिक्षणमा महिला, दलित, जनजाति, आदीवासी, मुस्लिमलगायतका विभिन्न समावेशी समूहका महाधिवेशन प्रतिनिधिलाई बोलाइएको छ । समावेशीता, संघीयता, लोकतन्त्रलगायतका विषयमा काँग्रेसका नेताहरू गगन थापा, धनराज गुरुङ, डा जगदिशचन्द्र पोख्रेल, डा यज्ञ अधिकारीलगायतले प्रशिक्षण दिने नेपाली काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्