नेभिगेशन
अन्य

राष्ट्रपति र प्रधानमन्त्रीको आग्रहमा विपक्षी मोर्चा चार दिन पर्खर्ने निर्णय

काठमाडौं । राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले गरेको आग्रहलाई मध्यनजर गर्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणाका लागि थप चार दिन पर्खने भएको छ । एमाओवादीले यसअधि सत्तापक्षसंग सहमति नभए चैत्र २६ गते दोश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएको थियो । संविधानका विवादित विषयमा वार्ता र सम्वादद्धारा सहमति कायम गरी अघि बढ्न सकारात्मक वातावरण बनिरहेको आन्दोलनको कार्यक्रम घोषणा गर्दा जनतामा राम्रो सन्देश नजाने सुझाब यादव र कोइरालाले दिए अनुसार विपक्षी मोर्चा ३० गतेसम्म पर्खन तयार भएको हो । एमाओवादी र मधेसवादी गठबन्धनमा आबद्ध ३० दलीय गठबन्धनको बैठक बस्नुपूर्व एमाओवादी र मधेसवादी दल सम्बद्ध मोर्चाको बैठकमा नेताहरूले मंगलवार घोषणा गर्ने भनिएको दोस्रो चरणको आन्दोलनको कार्यक्रम ३० गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली विरामी भएको अवस्थामा उनीसँगको छलफलबिना सहमति सम्भव नभएको भन्दै यस्तो अवस्थामा केही दिन पर्खन आग्रह गरेको नेताहरुले जानकारी दिएका छन् । बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार, विपक्षी गठबन्धनले फागुनको अन्त्यसम्म सत्तापक्षसँग सहमतिको लागि पहल गर्ने र यदि त्यो अबधिभित्र पनि वार्ताद्धारा सहमतिको वातावरण नबनी निकास ननिस्कने अवस्था देखिएमा चैत १ गते गठबन्धनको बैठक बसी आन्दोलनको कार्यक्रम घोषणा गर्ने निश्कर्ष निकालेका थिए । फागुन मसान्तसम्ममा वार्ताद्धारा सहमतिको विश्वसनीय वातावरण बन्दै गएमा गठबन्धनको चैत १ गते बस्ने बैठकले वार्ताका लागि पुनः पर्खने निर्णय गर्न सक्ने पनि त्यी नेताले बताए । तर, मोर्चामा आबद्ध मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने कांग्रेस र एमालेका नेताहरूले देखाएको ललिपपमा नभुली तत्काल आन्दोलनको कार्यक्रम घोषणा गर्नुपर्ने धारणा राखेका थिए । यादवले आफ्नो भनाई अपरान्ह एमाओवादी संसदीय दलको कार्यालयमा बसेको ३० दलीय गठबन्धनको बैठकमा पनि दोर्याएका थिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीसँग पछिल्लो समय भएको भेटघाट र छलफलबारे जानकारी दिएका थिए । प्रधानमन्त्री कोइरालासँग आइतबार साँझ भएको छलफलमा कोइरालाले आफू वार्ताबाटै समस्या समाधानका लागि गम्भीर रूपले लागेको भन्दै एमाले अध्यक्ष ओली अस्वस्थ भएको अवस्थामा वार्ता नगरी आन्दोलनमा जादा बाहिर राम्रो सन्देश नजाने सुझाव दिएको दाहालले बताएका थिए । त्यसैगरी आजै बिहानमात्रै प्रधानमन्त्री कोइरालासँग भेटवार्ता गरी आएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले आफूसँग पनि प्रधानमन्त्री कोइरालाले सहमतिबाटै संविधान निर्माणका लागि तयार भएको बताएका थिए । यसैबीच राष्ट्रपति डा. रामबरण यादवले आन्दोलनकारी शक्ति मिलेर सहमतिका आधारमा संविधान निर्माण गर्ने वातावरण बनाउन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका थिए । आन्दोलनकारी शक्तिका बीचमा संवाद र सहमतिको आवश्यकता रहेकामा जोड दिँदै राष्ट्रपति डा यादवले यतिखेर आन्दोलनले कोही कसैको हित नगर्नेमा अध्यक्ष दाहाललाई सचेत गराएका थिए । राष्ट्रपति डा यादव र एमाओवादी अध्यक्ष दाहालबीच मंगलवार भएको टेलिफोन संवादमा राष्ट्रपतिले दलहरु मिलेर अगाडि बढ्नुपर्ने र त्यसमा शान्ति सम्झौताका हस्ताक्षरकर्ताको हैसियतले एमाओवादीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए । सहमतिका लागि एमाले अध्यक्ष ओलीसँग आफूले पनि कुराकानी गरीरहेको भन्दै कोइरालाले एमाओवादी अध्यक्ष दाहाल र गच्छदारलाई तपाइहरूले पनि ओलीसँग कुराकानी गरी वातावरण सहज बनाउन लागि पर्न आग्रह गरेका थिए। पटक–पटक गरी सोमवार साँझसम्म तेस्रो पटक विज्ञप्ति निकालेर प्रधानमन्त्रीको विपक्षी गठबन्धनलाई वार्ताका लागि आग्रह गरेका थिए । गठबन्धनको बैठकमा दाहाल र गच्छदार दुवै नेताहरुले प्रधानमन्त्रीको आग्रह बमोजिम एमाले अध्यक्ष ओलीसँग क्रमश ३ पटक र २ पटक फोन सम्पर्क गर्ने प्रयास गरेपनि ओलीसँग सम्पर्क हुन नसकेकोले उनलाई चाडै भेटेर कुराकानी गर्ने जानकारी गराएका थिए । फोरम नेपालका अध्यक्ष यादवले गरेको आन्दोलनको दबाबबारे प्रतिक्रिया दिँदै अरू नेताहरुले मानविय दृष्टिकोणले पनि मानिसको स्वास्थ्य सबैभन्दा ठूलो विषय भएको भन्दै दोस्रो ठूलो दल एमालेको अध्यक्ष ओलीसँग भेटवार्ता नगरी आन्दोलनमा जादा त्यसले आफूहरूलाई नै राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा असर गर्ने तर्क राखेका थिए । उनीहरूले ओलीलाई डाक्टरले तीन चार दिन आराम गर्न र बढी कुराकानी नगर्न सुझाव दिएकोले आफूहरुले अहिले केही समयलाई पखर्नु नै राम्रो हुने धारणा राखेका थिए । एमाओवादी नेता बाबुराम भट्टराईले पनि आन्दोलनभन्दा वार्ता कै लागि जोड दिँदै वार्ताको टेबललाई पनि आन्दोलनकै रुपमा लिएर सहमति निर्माणको कोशीश गर्नुपर्ने बताएका थिए । बैठकमा उपेन्द्र यादव बाहेक अरू दलका नेताहरुले सत्तापक्षसँग हुने वार्ताले निकास दिने सम्भावना नभएमा आन्दोलनबाट आफूहरू नभाग्ने भन्दै त्यस परिस्थितिमा घोषणा गरिने आन्दोलन निर्णायक र प्रभावकारी हुने आश्वासन दिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्