नेभिगेशन
अन्य

‘लचकतालाई कमजोरी नठानियोस’

काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु लचकताका साथ वार्तामा बसेकाले त्यसलाई कमजोरी नठान्न सत्तारुढ दलहरुलाई चेतावनी दिएका छन् । उनले सहमतिका आधारमा संविधान जारी नहुने अवस्था आए आन्दोलनको विकल्प नभएको बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १०५औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीद्वारा आयोजित महिलामाथि हुने राजनीतिक हिंसा विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले आफूहरुले वार्तामा बस्न गरेको लचकतालाई सत्तारुढ दलले हल्काफुल्का लिएर समय कटाउने खेल सम्झिए परिणाम गम्भीर हुने र मुलुकको राजनीति नयाँ दिशातिर अगाडि बढ्ने चेतावनी दिए । गम्भीरतापूर्वक वार्तामा बस्नुपर्ने नेताहरु कोही बिरामी भएको वहानामा नआउने, कोही देश विदेशको भ्रमणमा जाने प्रवृत्तिले सहमति हुनेमा आफूहरु शसंकित रहेको उनको कथन थियो । पछिल्लो दिनमा सुरु भएको प्रमुख दलबीचको वार्ता पनि यही फागुन १६ गतेको जनप्रदर्शनका कारण अगाडि बढेको दाबी गर्दै उनले वार्तामा अल्मल्याएर आन्दोलन भाँड्ने योजनामा कोही लागेको भए त्यसले ल्याउने परिणाम पनि गम्भीर हुने जिकिर गरे । महिला, दलित, मधेसी, आदिवासी, जनजातिलगायत समुदायको अधिकारमा कुनै सम्झौता नगर्ने बताउँदै उनले अधिकार प्राप्त नभए संघर्षमा जाने उल्लेख गरे । अध्यक्ष दाहालले भने, ‘नेपाली काँग्रेस र नेकपा (एमाले) ले माने भने संविधान बन्छ नत्र आन्दोलन गर्नुपर्ने बाध्यता हुन्छ ।’ राजनीतिक सङ्क्रमणका कारण हिजो क्रान्तिमा लागेका महिला पनि पुनः पुरानै अवस्थामा फर्कनु परेको भन्दै उनले नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरे । जनयुद्ध र विभिन्न आन्दोलनमा महिलाको बलिदानबाट प्राप्त उपलब्धि अपहरण हुने खतरा रहेकाले अधिकार प्राप्तिको संघर्षमा लागिरहनुको विकल्प नभएको अध्यक्ष दाहालको भनाइ थियो । कार्यक्रममा एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताको उपस्थिति थियो । सो अवसरमा नेत्रीद्वय हिसिला यमी र शशी श्रेष्ठ तथा संघका अध्यक्ष सीता पोखरेललगायतले अधिकार प्राप्तिको लडाईं पूरा नभएका कारण थप संघर्षमा उत्रनुको विकल्प नभएको धारणा राखेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्