नेभिगेशन
अन्य

महिला सशक्तिकरणमा एकताबद्ध हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास र महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति अबलम्बन गर्दै महिला सशक्तिकरण गर्ने अभियानमा एकताबद्ध हुन आह्वान गरेका छन् । अन्तराष्ट्रिय महिला दिवस मार्च ८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले अधिकार सम्पन्न बनाएर समाजलाई आर्थिक र सामाजिक विकासमा विश्वका सम्पन्न र विकसित मुलुकका समकक्षमा पुर्याउन सबै सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा नागरिक समाजलाई आ–आफ्नो स्थानबाट योगदान पुर्याउन पनि अपिल गरेका छन् । संविधानसभाले अब बनाउने संविधानमा समेत महिलाका अधिकार सुरक्षित गरिने विश्वास दिलाउँदै प्रधानमन्त्री कोइरालाले अन्तराष्ट्रिय महासन्धिहरुमा गरिएको प्रतिवद्धताअनुसार महिला केन्द्रित नीति, कानून, योजना, संरचना र कार्यक्रम तर्जुमा गरी उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाई सन्तुलित, समुन्नत र सुखी समाज निर्माण गर्न प्रयासरत रहेको बताएका छन् । जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाको विकास नगरिकन देशको विकास सम्भव नभएको उल्लेख गर्दै उहाँले अन्तरिम संविधान, २०६३ ले कुनै पनि नेपालीलाई लिंग धर्म, जातजाति वा बसोबासको आधारमा भेदभाव नगरिने तथा महिला विरुद्धको हिंसालाई दण्डनीय अपराधको रुपमा लिने कानूनी व्यवस्था भएको स्मरण गराएका छन् । राज्यले महिलालाई राजनीति र रोजगारीमा अधिक सहभागी गराउन महिलाका लागि आरक्षणको व्यवस्था गरिएको र छात्राको शिक्षालाई प्रबद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिएको तथा पाँच वर्षे लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएकोे सन्देशमा उल्लेख छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्