नेभिगेशन
अन्य

विपक्षीको निर्णय सकारात्मक : सत्तापक्ष

काठमाडौ । झण्डै एक महिनादेखिको संवादहीनता तोडदै औपचारिक छलफलमा बस्ने विपक्षी मोर्चाको निर्णयलाई सत्तारुढ दल काँग्रेसर एमालेले सकारात्मक रुपमा लिएका छन् । उनीहरूले अब ढिलो नगरी वार्ता थालिहाल्नुपर्ने र सहमतिबाटै अघि बढ्न आफूहरु आतुर रहेको बताएका छन् । संभवतः शुक्रबारबाटै औपचारिक छलफल हुनेछ । सत्तारुढ दलले पटक पटक आग्रह गर्दा पनि नमानिरहेको एमाओवादी, मधेसीसहितको विपक्षी मोर्चाले बिहीबार औपचारिक संवाद गर्ने निर्णय गरेको थियो । गत माघ ११ मा असहमतिको वावजुद संविधानसभाको दुई तिहाई बहुमतले संविधानका विवादित बिषयमा प्रश्नावली तयार गर्न प्रस्ताव समिति बनाइएपछि विपक्षी मोर्चा सत्तारुढ दलसंग संवादमा समेत बस्न मानेको थिएन । ‘संवादमा बस्ने औपचारिक निर्णय गर्नुभएको छ यो एकदमै सकारात्मक कुरा हो अब अविश्वासको अवस्था हटेको छ’ काग्रेस सहमहामन्त्री पूर्णबहादुर खडकाले कान्तिपुरसंग भने,‘अब छिट्टै छलफल सुरु हुन्छ ।ु दलका शिर्ष नेताहरुबीच भएका अनौपचारिक संवादले औपचारिक छलफलमा बस्ने वातावरण तयार भएको हो । ‘हामीले लामो सयमदेखि वार्ता गरौ भन्दै आएका थियौं, तर उहाँहरु मान्नुभएको थिएन’ एमाले उपाध्यक्ष भिम रावलले भने, ‘वार्तामा बस्न बल्ल तयार हुनु भएको छ, अब खुल्ला रुपमाले छलफल गरेर सहमति खोज्नुपर्छ ।’ विपक्षी मोर्चाले प्रश्नावली समिति खारेज गर्नुपर्ने माग राखेको छ । औपचारिक छलफलमा बसेपछि सबै बिषयमा कुरा हुने नेताहरुले बताएका छन् । प्रश्नावली समितिले त काम गरिसक्यो अब यो खारेज गर्ने÷नगर्ने भन्ने कुरै बाँकी रहेन, मुल कुरा सहमति कसरी कायम गर्ने भन्ने विभिन्न विकल्पमा छलफल गर्ने होु काग्रेस सहमहामन्त्री खडकाले भने । एमाले उपाध्यक्ष रावलले पनि वार्तामा बसेपछि सबै बिषय त्यहीबाट टुंग्याइने जानकारी दिए । ‘उहाँहरुका कुरा पनि राख्नुहोला, हामी पनि आफ्ना सरोकारका कुरा भन्छौ’रावलले भने, ‘त्यसरी नै त सहमतिमा पुग्ने हो नि ।’ प्रमुख दलहरुबीच गत माघ ५ मा करिब सहमति हुने अवस्था बनेको थियो । शासकीय स्वरुपमा नोट अफ डिसेन्ट राखेर अन्य बिषय टुंग्याउने प्रस्ताव एमाओवादीको थियो । काग्रेस–एमालेले भने सबै बिषय टुंग्याउनुपर्ने धारणा राखेका थिए । त्यही विन्दुबाट दलहरुबीचको समझदारी भत्किएको थियो । दुबै पक्षबीचको तिक्तता बढदै जाँदा संविधानसभाका भित्र तोडफोड र विपक्षी मोर्चाको विरोधका वावजुद प्रश्नावली समिति बनेको थियो । माघ ५ मा टुटेको विन्दुबाटै सहमतिको प्रक्रियामा जान सकिने विकल्पमा दलहरुबीच अनौपचारिक कुराकानी भइरहेको छ । झण्डै एक महिनाको अवधिमा प्रधानमन्त्री सुशील कोइरालाले दुईपटक लिखित रुपमा विपक्षीलाई वार्तामा आउन आग्रह गरिसकेका छन् । त्यसबाहेक पटक पटक उनको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेटघाटसमेत भइरहेको छ । उक्त भटेघाट र अनौपचारिक कुराकानीले वार्तामा बस्ने वातावरण तयार पारेको हो । अनौपचारिक कुराकानीमा दलहरुबीच अब जेठ १५ भित्र संविधान जारी गर्ने गरी सहमति खोज्ने प्रयास भइरहेको छ । कहिले संविधान जारी गर्ने र सहमति कसरी गर्ने भन्ने औपचारिक टुंगा अब सुरु हुने औपचारिक संवादले तय गर्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्