नेभिगेशन
अन्य

काठमाडौँ–बनारस बस सेवा सञ्चालनमा

काठमाडौँ । काठमाडौँ र बनारसबीच भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले दैनिक यात्रुबाहक बस सेवा सञ्चालनमा आएको छ । बिहान ८ बजे दशरथ रङ्गशालामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले बस सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सदियौंदेखि धार्मिक र सांस्कृतिक सम्बन्ध रही आएको दुई सहरबीच सिधा यातायात सञ्चालनले पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । बससेवा शुभारम्भ कार्यक्रममा भारतीय यातायात मन्त्रालयका सहसचिव निरज बर्मा, नेपाली समकक्षी विष्णुओम वादे श्रेष्ठलगायत यातायात व्यवसायी र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । दैनिक सञ्चालन हुने यातायात सेवाले दुवै देशका पर्यटक लाभान्वित हुनेछन् । छ सय चार किमीको दूरीमा रहेको बनारस १६ घण्टाको यात्रापछि पुगिने नेपाल यातायात राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । दुई हजार १ सय ४४ भाडा दरमा बनारससम्मको एकतर्फी यात्रा गर्न सकिने पनि उनले जानकारी दिए । बनारस यात्राका लागि गोंगबु नयाँ बसपार्कबाट टिकट लिएर यात्रा गर्न सकिने भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) को १८औं शिखर सम्मेलनका बेला मङ्सिर ९ गते प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा काठमाडौँ–दिल्ली बस सेवाको शुभारम्भ गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्