नेभिगेशन
अन्य

एमालेमा आठ वैकल्पिक केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको मंगलवारको बैठकले आठ जनालाई केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा मनोनयनको निर्णय गरेको छ । वैकल्पिक सदस्य हुनेमा खगेन्द्र चुँडाल, देवशंकर पौडेल, मानबहादुर जिसी, रूपनारायण श्रेष्ठ, झपट रावल, प्रल्हाद गिरी, डा देउमान सम्बाहाम्फे र भाष्कर काफ्ले छन् । गिरी एमाओवादीबाट तथा डा सम्बाहाम्फे र काफ्ले नेकपा (माले) बाट पुनः एमाले प्रवेश गर्ने नेता हुन । यो निर्णयसँगै एमाले केन्द्रीय समितिमा १ सय ८० जना पुगेको छ । बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा पुनः एमाले फर्केकालाई पार्टी विधानको धारा ६७ (४) बमोजिम मनोनयन गरिएको हो । सो दफाअनुसार एकता प्रक्रियाबाट आउनेलाई २० प्रतिशतभन्दा बढी संया मनोनयन गर्न सकिनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित शीर्ष नेता सम्मिलित कार्यदलको सुझावका आधारमा ती नाम स्थायी कमिटीले पारित गरेको हो । यसअघि यही फागुन १३ गतेको स्थायी कमिटीले १० नेतालाई केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनयन गरेको थियो भने यही फागुन १७ गतेको बैठकले राधाकृष्ण मैनाली र विजय सुब्बालाई मनोनयन गरेको थियो । गत असारमा सम्पन्न पार्टीको नवौं महाधिवेशनपछि केन्द्रीय सदस्यको कार्यबिभाजनका विषयमा भने स्थायी कमिटीले निर्णय गर्न बाँकी छ । बैठकमा संविधान निर्माण र समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्