नेभिगेशन
अन्य

आयल निगमद्वारा दश अर्ब ऋण भुक्तानी

काठमाडौं । नेपाल आयल निगमले विभिन्न वित्तीय संस्थाबाट लिएको करिब रु दश अर्ब ऋण भुक्तानी गरेको छ । निगमले इन्डियन आयल कर्पोरेसन(आइओसी) लाई करिब रु पाँच अर्ब २० करोड र कर्मचारी सञ्चय कोषलाई रु एक अर्ब ५० करोड ऋण भुक्तानी गरेको हो । निगमले बुधबार नागरिक लगानी कोषसँग लिएको मध्ये रु तीन अर्ब ऋण भुक्तानी गर्दैछ । निगमले कोषबाट रु आठ अर्ब ६६ करोड विभिन्न समयमा ऋण लिएको थियो । रु तीन अर्ब भुक्तानी गरेपछि रु पाँच अर्ब ६६ करोड तिर्न बाँकी रहने आयल निगमले जनाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले विभिन्न संस्थासँग लिएको ऋण तिर्ने निर्णय गरेको प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जानकारी दिए । निगमले आइओसी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका संस्थालाई रु ३१ अर्ब ३२ करोड ऋण तिर्न बाँकी रहेको उनले बताए । निगमले कोषबाट १२ प्रतिशत व्याजदरमा ऋण लिएको भन्दै चर्को आलोचना भएको थियो । दुई वर्ष पहिले तत्कालीन अर्थमन्त्री शंकरप्रसाद कोइरालाले ब्याजदरमा दुई प्रतिशत घटाएर १० प्रतिशत कायम गर्न निर्देशन दिएका थिए । निगमले हालसम्म आठ पटक मूल्य समायोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिव्यारेल ४७ अमेरिकी डलरसम्म घटेको थियो । यस्तै निगमले मूल्य घटबढ हुँदा बजार प्रभावित नहोस भनेर स्थापना गरेको मूल्य स्थिरीकरण कोषमा पनि हालसम्म रु दुई अर्ब २७ करोड रकम जम्मा गरिसकेको प्रवक्ता घिमिरेले बताए । निगमले गत महिना रु ५४ करोड नाफा गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य हालकै अवस्थामा कायम रहे निगमको नाफा बढ्नेछ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर रुपमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेपछि नेपाल आयल निगमको आर्थिक अवस्था सुदृढ बन्दै गएको हो । निगमले स्वचालित मूल्य प्रणालीलाई लागू गर्दै अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गरेपछि ऋण तिर्न सक्षम भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्