नेभिगेशन
अन्य

योजनाबद्ध आक्रमण भयो : एमाओवादी

काठमाडौँ । सरकारले योजनावद्ध रुपमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण गरेको एमाओवादीले आरोप लगाएको छ । शनिबार नयाँबानेश्वरमा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले गरेको हस्तक्षेपमा एमाओवादीका नेता गंगानारायण श्रेष्ठलगायत तीसभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका थिए । घाइतेहरुको कान्तिपुर, निजामती र वीर अस्पतालमा उपचार भइरहेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतवार कान्तिपुर अस्पतालमा पुगी नेता श्रेष्ठको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका थिए । नेता श्रेष्ठको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएपछि सञ्चारकर्मीसंग अध्यक्ष दाहालले सत्तारुढ दलको व्यवहार अझै पनि सहमतिका आधारमा अगाडि बढ्न तयार नभएको बताए । बहुमतीय प्रक्रियालाई स्थगन गरेर सहमतिका आधारमा अगाडि बढ्न सत्ताधारी तयार नभए थप सशक्त आन्दोलनको आवश्यकता रहेकोमा जोड दिँदै उनले शनिबार बानेश्वरमा गरिएको प्रहरी हस्तक्षेप त्यसैको परिणति भएको बताए । यसैबीच कान्तिपुर अस्पतालमा उपचाररत एमाओवादी नेता श्रेष्ठले आफूलाई प्रहरीले चिनेर नै ताकी–ताकी प्रहार गरेको बताए । प्रहरीका उच्च अधिकारीसँग छलफल गर्दै गर्दा एक्कासी हस्तक्षेप भएको र नेताहरुमाथि नै छानी–छानी प्रहार गरिएको उनको भनाइ छ । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले प्रहरी हस्तक्षेमा परेर घाइते भएका नेता तथा कार्यकर्ता निःशुल्क उपचार गर्न माग गरेका छन् । ‘बिना कुनै आधार निषेधित क्षेत्र तोडेको आरोपमा नेता तथा कार्यकर्तामाथि जानी–जानी प्रहार गरिएको छ । त्यस क्षेत्रमा रहेका प्रहरीका अधिकृत तथा आक्रमणकारी प्रहरीलाई कारबाही हुनुपर्छ’ –प्रवक्ता शर्माले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्