नेभिगेशन
अन्य

पूर्वराजासंग हुन लागेको सहमति तुहिएको राणाको खुलासा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले २०६२/६३ को आन्दोलनका बेला तत्कालिन राजासँग बन्न लागेको समझदारी दुई दिनपनि नटिको बताएका छन् । भारतीय कांग्रेसका नेता करण सिंहले ल्याएको ‘बेबी किङ’को प्रस्ताव दुई दिन पछि भारतका तत्कालिन विदेश सचिव श्याम शरणको वक्तब्यबाटै खारेज भएको राणाको भनाई छ । ‘सहमति भए/नभएको बारेमा मलाई मूर्त जानकारी छैन,’आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सोधिएको एक प्रश्नको जवाफमा राणाले भने, ‘तर जहाँ सम्म मेरो इम्प्रेसन छ, करणसिंह आउँदा भएको समझदारी त्यसको दुई दिन पछिको श्याम शरण (तत्कालिन भारतीय विदेश सचिव)को वक्तब्यबाटै ओभररुल भयो ।’ तत्कालिन दरवारसँग समेत निकट सम्बन्ध भएका राणा आन्दोलनरत सात दलिय गठबन्धनका एक नेता हुन् । सिंहसँगको समझदारीबारे सोधिएको अर्को प्रश्नमा राणाले भने, ‘त्यो भनेको राजतन्त्रलाई कुनै न कुनै रुपमा निरन्तरता दिइन्छ भन्ने नै हो ।’ निरंकुश राजतन्त्र विरुद्धको संयुक्त जनआन्दोलन उत्कर्षमा पुग्न लाग्दा तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहका प्रतिनिधिका रुपमा कांग्रेस आईका नेता सिंह नेपाल आएका थिए । शाही नातेदारसमेत रहेका भारतीय नेता सिंह राप्रपा अध्यक्ष राणाका साख्खै फुपाजू हुन् । यसअघि ६४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका सन्दर्भमा शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले आफूले शासन सत्ता छोड्नु अघि दलहरुसँग भएका समझदारी कार्यान्वयनको माग गरेका थिए । सिंह भारत फर्केको भोलिपल्ट (२०६३ बैशाख ८ मा) तत्कालिन राजा ज्ञानेन्द्रले शाही घोषणा मार्फत आन्दोलनरत दलहरुलाई वार्ताको आह्वान गरेका थिए । शाही घोषणा स्वीकार्न अन्तराष्ट्रिय समुदायले गरेको आग्रह विपरीत दलहरुले शान्तिपूर्ण आन्दोलन नरोक्ने अडान राखेका थिए । त्यसपछिका दुई दिन जनआन्दोलन झन चर्किएपछि बैशाख ११ को मध्यरातीको शाही घोषणाबाट प्रतिनिधिसभाको पुर्नस्थापना भई नेपालको सम्पूर्ण राजकीय सत्ता जनतामा आएको हो । २०६३ जेठ ४ को प्रतिनिधिसभा घोषणामार्फत पुर्नस्थापित संसदले तत्कालिन राजाका सबै बैधानिक अधिकार औपचारिकरुपमै कटौती गरेको थियो । २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले औपचारिकरुपमा गणतन्त्र कार्यान्वयन गरेपछि शाहले श्रीपेच र राजदण्ड नेपाल सरकारलाई बुझाउँदै सहजरुपमा राजदरवार छोडेका थिए । त्यसता मौन रहेका पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको शुभकामना सन्देशमार्फत तत्कालिन दलहरुसंग सहमति कार्यान्वयनको माग गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्