नेभिगेशन
अन्य

राधाकृष्ण मैनाली र विजय सुब्बा एमाले केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । एमालेले पार्टी छाडेर पुनः फर्केका दुई नेतालाई केन्द्रीय कमिटीमा तानेको छ । बिभिन्न समयमा एमाले छोडेर अन्यत्र गएका नेताहरु फिर्ता भएमा केन्द्रीय समितिमा २० प्रतिशत स्थान दिने घोषणा गरेको थियो । स्थायी कमिटी बैठकले नेताहरु राजधाकृष्ण मैनाली र विजय सुब्बालाई केन्द्रीय सदस्य मनोनयन गरेको छ । पार्टीमा फर्केकाहरुमध्येबाट सुब्बा र मैनालीलाई केन्द्रीय सदस्य मनोनीत गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिए । मैनाली शाहीकालमा मन्त्री हुँदै तीन वर्षअघि एमाओवादीमा गएका थिए । शाहीकालमा राजासँग वार्ता गरेको भन्दै उनलाई स्थायी कमिटीबाट निश्कासन गरिएको थियो । पछि शाही सरकारको शिक्षामन्त्री समेत भएका थिए । शाहि सरकारपछि केहि समय निष्कृय भएका मैनाली पछि एमाओवादी सल्लाहकार भएर पार्टी प्रवेश गरेपछि कुनै पनि बैठकमा नबोलाएपछि निष्क्रिय थिए । उनी झापा आन्दोलनका एक अगुवा र एमाले (तत्कालिन माले)का संस्थापक हुन् । सुब्बा एमाले तत्कालिन उपाध्यक्ष अशोककुमार राई नेतृत्वको संघीय समाजवादी पार्टीमा गएका थिए । उनी ६ महिनाअघि एमालेमा पुनः फर्किएका थिए । स्रोतका मैनालीलाई स्थायी कमिटीमा लैजाने तयारी भएको छ भने सुब्बा पोलिट्ब्यूरो सदस्य बन्नेछन् । मैनालीले आफू स्थायी कमिटीमा रहेकैबेला निश्कासन गरिएकाले पुनर्स्थापित हुनुपर्ने माग राख्दै आएका थिए । सुब्बा पार्टी छाड्नुअघि वैकल्पिक पोलिट्ब्यूरो सदस्य थिए । मैनालीले आफुलाई पूर्ववत स्थानमा पूर्नवहाली भएमा मात्र पार्टीमा आउने बताउदै आएका थिए । यसैबीच मैनालीले बाह्र वर्षपछि पार्टीले सम्झिएको भन्दै स्वागत गरेका छन् । मैनालीले आफू पहिलो संविधानसभापछि एमाओवादीमा प्रवेश गरे पनि त्यहाँ सन्तुष्ट नभएपछि स्वतन्त्र रहेको अवस्थामा पुरानो पार्टीले घर फर्काउनुलाई स्वागतयोग्य ठानेको बताए । बाह्र वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहको मन्त्रिमण्डलमा शिक्षामन्त्री बनेपछि एमालेले उनलाई पार्टीबाट हटाएको थियो । ‘एमाओवादीले ११० सदस्यीय सल्लाहकार समितिमा १११ औं सदस्य मलाई बनाएको थियो, त्यो भिडमा गएर म उल्लु हुन चाहिन, अब एमालेमा जे जिम्मेवारी पाइन्छ, त्यो ग्रहण गरेर बाँकी राजनीतिक जीवन बिताउनेछु’, उनले भने । एमालेको नवौँ राष्ट्रिय महाधिवेशन अगाडि र पछि पनि पार्टीमा फर्कनका लागि आफूसँग नेताहरूको वार्ता भएको जनाउँदै उनले भने, ‘उहाँहरुले सँगै काम गरौँ भन्नुभएको छ, केन्द्रीय कमिटीमा रहे पनि सँगै हुन्छ, स्थायी कमिटीमा रहे पनि सँगै हुन्छ, बुढेसकालमा कति बार्गेनिङ गर्नु ?’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्