नेभिगेशन
अन्य

स्वाइनफ्लुबाट एक महिलाको मृत्यु

काठमाडौ । स्वाइनफ्लुबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ । मोडल अस्पतालमा उपचार गर्दागर्दै काठमाडौं क्षेत्रपाटीकी ५० वर्षीया महिलाको शनिबार मृत्यु भएको हो । मृतक महिलाको परिचय गोप्य राखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले महिलाको मृत्यु स्वाइनफ्लुबाट भएको आइतबार मात्रै पुष्टि गरेको हो । महाशाखा प्रमुख बाबुराम मरासिनीले उनको आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको जानकारी दिए । मोडल अस्पतालका चिकित्सकले सेकेण्डरी अवस्थामा पुगिसकेकोले ति महिलालाई बचाउन नसकिएको जनाएको छ । रुघा लाग्ने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या भएपछि उनलाई १५ दिनअघि अस्पताल भर्ना गरिएको थियो । गत विहीबार ति महिलामा स्वाइन फ्लु एचवान एनवान पुष्टि भएको थियो । त्यसलगत्तै स्वास्थ्य मन्त्रालयलाई खबर गरिएको थियो । स्वाइनफ्लुको उपचार गर्ने विशेष कक्ष नभएको भन्दै मन्त्रालयले पाटन अस्पतालमा लैजान सुझाव दिएको थियो । तर, पाटन अस्पतालमा आईसीयू खाली नभएको जवाफ आएपछि उनलाई मोडल अस्पतालमै राखेर उपचार गरिएको थियो । भारतमा महामारीको रुपमा फैलिएको स्वाइनफ्लु विरुद्धको औषधि र उपकरण नेपालमा अभाव छ । भारतसँग जोडिएका सिमा क्षेत्रमा पनि पर्याप्त सतर्कता अपनाइएको छैन । नेपालमा संक्रमित विरामीको संख्या बढ्दै गएको छ । जोखिम उच्च र सतर्कता फितलो भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । एकप्रकारको रुघा जस्तो रोग स्वाइनफ्लु एच वान एन वान भाइरसबाट सर्दछ । यसको संक्रमण भएमा रुघाखोकी लाग्ने, टाउको दुख्ने, उच्च ज्वरो आउने, स्वासप्रश्वासमा समस्या हुने, खाना खान मन नलाग्ने, पखाला लाग्ने लगायतका समस्या देखा पर्दछ । यसबाट बँच्न नाकमुख राम्रोसँग छोपिने मास्क प्रयोग गर्ने, भिडभाडमा नजाने, कसैसँग भेट हुँदा हात मिलाउनुको सट्टा नमस्कार गर्ने, रुघाखोकी लागेमा घरमै आराम गर्ने र प्रशस्त झोलीलो खानेकुरा खानुपर्ने हुन्छ । रुघाखोकी लाग्नेवित्तिकै सामान्यरुपमा नलिन र उपचार गराइहाल्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्