नेभिगेशन
अन्य

‘एमाओवादीले लाठी देखाएर तर्साउन खोज्यो’

गोरखा । नेपाली कांग्रेसका उपसभापतिसहित आधा दर्जन केन्द्रीय सदस्यले एमाओवादीले लाठी देखाएर संविधानसभालाई तर्साउन खोजेको बताएका छन् । गणेशमान सिंहको जन्मसताब्दीको अवसर पारेर चलिरहेको गणेशमान बलिदान अभियानको क्रममा बिहीबार गोरखाको पालुङटार पुगेका नेताहरुले यस्तो बताएका हुन् । ‘एमाओवादीले लाठी देखाएर संविधान सभा तर्साउन खोजेको छ’ उपसभापति रामचन्द्र पौडेलले भने ‘संविधानसभा छाडेर आन्दोलनमा जाने एमाओवादी मोर्चाको कुनैपनि प्रयास सफल हुन सक्दैन ।’ एमाओवादीले सडकबाट संविधानसभालाई तह लगाउछौँ भन्ने सोच राखेको भए त्यो दिवा सपना हुने पौडेलले दाबी गरे । उनले चित्त नबुझेको कुरामा छलफलको बाटो खुल्ला हुँदाहुँदै आन्दोलनको घोषणा गरेको एमाओवादीलाई नै आन्दोलन केका लागि भन्ने थाहा नभएको दाबी गरे । ‘हामी एमाओवादीलाई संविधान बनाउन आउनुस् भनिरहेका छौँ, उनीहरु आएनन् भन्दैमा रोकिनेवाला छैन,’ उनले भने, ‘अब मुलुक र जनताले छिट्टै निकास पाउँछन्, संविधान पनि दिलाउँछौँ ।’ सोझा साझा जनतालाई पछि लगाएर फेरि आन्दोलन गर्दै एमाओवादीले तानाशाह लाद्न खोजेको उनको भनाइ थियो । सो अवरसरमा कांग्रेस केन्द्रीय सदस्य गगन थापाले संविधानका सबैजसो अन्तरबस्तुमा सहमति भइसकेपछि प्रदेशमा मात्रै कुरा नमिल्दा संविधान बन्न नसकेको जनाए । एमाओवादीले भनेजस्तो ०४७ सालको संविधान ब्यूताउने पक्षमा कांग्रेस नरहेको बताउँदै उनले भने–‘अन्तरिम संविधान बिपरित कांग्रेस जाँदैन, अन्तरिम संविधानमै टेकेर केही दिनमै संविधान निर्माणको चरण सुरु हुन्छ ।’ मंगलवार धादिङले नेपाली कांग्रेस गोरखालाई हस्तान्तरण गरेको गणेशमान बलिदानी अभियान नाम दिईएको यात्रा तीन दिनसम्म गोरखामा चलेको हो । बिहीवार गोरखाले लमजुङलाई अभियान हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा उप सभापति पौडेल, केन्द्रीय सदस्यहरु चिनकाजी श्रेष्ठ, गगन थापा, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, कमला पन्त, संकर भण्डारी लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्