नेभिगेशन
LEADING_MAIN

मेलबर्नमा नोभेम्बर २१ र २२ मा ‘एभरेस्ट सकर मिट २०२६’ आयोजना हुँदै

बहुसांस्कृतिक समुदायलाई फुटबलमार्फत जोड्ने उद्देश्य, तीन विधामा प्रतियोगिता हुने

मेलबर्न। अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलबर्नमा आगामी नोभेम्बर २१ र २२ मा ‘एभरेस्ट सकर मिट २०२६’ आयोजना हुने भएको छ। एभरेस्ट युनाइटेड क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताले फुटबलमार्फत विभिन्न जातजाति, भाषा, राष्ट्रियता र सांस्कृतिक पृष्ठभूमिका समुदायलाई एकै ठाउँमा जोड्ने लक्ष्य राखेको छ।6a338487-e822-47f3-9227-4a064ad62676-1794857132.jpeg

मेलबर्नको २६०–२८० होगन्स रोड, हपर्स क्रसिङ, भिक्टोरियमा आयोजना हुने प्रतियोगिता बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिता केवल खेलकुद प्रतिस्पर्धामा सीमित नभई बहुसांस्कृतिक एकता, आपसी सद्भाव, मित्रता र सामुदायिक सम्बन्ध विस्तार गर्ने साझा उत्सवका रूपमा आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा तीन विधाका कप समावेश गरिएका छन्। जसअन्तर्गत खुला उमेर समूहको ‘सिएरा ओपन कप’ ११ खेलाडी सम्मिलित टोलीबीच सञ्चालन हुनेछ। यस विधामा ६ टोलीको सहभागिता रहनेछ। त्यस्तै, ३५ वर्षमाथिका खेलाडीका लागि ‘अलायन्स वाइज कप’ आयोजना गरिनेछ, जसमा पनि ६ टोलीले ११–ए–साइड फुटबल प्रतिस्पर्धा गर्नेछन्।d66af9ce-eb67-40cf-87db-5fdbeb74d727-1794857159.jpeg

युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि ‘ग्रेस योङ गन्स कप’ आयोजना गरिनेछ। ९–ए–साइड ढाँचामा सञ्चालन हुने उक्त प्रतियोगिता नोभेम्बर २२ अर्थात् आइतबार हुनेछ। यस विधामा चार टोली सहभागी हुनेछन् भने बालबालिकाको सहभागिता प्रोत्साहित गर्न कुनै प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य फुटबलप्रेमीलाई जातीय, भाषिक वा राष्ट्रिय पहिचानका आधारमा विभाजित नगरी सबैलाई समान अवसर प्रदान गर्नु हो। नेपाली समुदायमा मात्र सीमित नराखी अस्ट्रेलियामा रहेका सबै समुदायका खेलाडीलाई सहभागी गराउने उद्देश्यले प्रतियोगितालाई खुला र समावेशी बनाइएको छ।

यसले विभिन्न समुदायबीच सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, खेल कौशल विकास गर्ने र आत्मविश्वास अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। खेलसँगै परिवारका सदस्य तथा दर्शकका लागि मनोरञ्जनात्मक गतिविधि, खानाका स्टल र सांगीतिक कार्यक्रमसमेत रहने आयोजकले जनाएको छ।

एभरेस्ट युनाइटेड क्लबका कार्यक्रम संयोजक मोहन हमालले एभरेस्ट सकर मिटलाई केवल फुटबल प्रतियोगिताका रूपमा नभई विभिन्न समुदायलाई एकताबद्ध गर्ने साझा मञ्चका रूपमा विकास गर्न खोजिएको बताए।

उनका अनुसार, “फुटबल विश्वभरका मानिसलाई जोड्ने साझा भाषा हो। हामीले यो प्रतियोगिता नेपाली समुदायमा मात्र सीमित नराखी सबै जातजाति, राष्ट्रियता र सांस्कृतिक पृष्ठभूमिका मानिसलाई सहभागी गराउने उद्देश्य राखेका छौँ। खेलमार्फत मित्रता, आपसी सम्मान, एकता र सामुदायिक सम्बन्ध बलियो बनाउनु हाम्रो प्रमुख लक्ष्य हो। विशेषगरी बालबालिकालाई निःशुल्क खेल्ने अवसर दिएर उनीहरूमा लुकेको प्रतिभा उजागर गर्न र भविष्यका खेलाडी उत्पादनमा योगदान पुर्‍याउन चाहन्छौँ।”559a6cbe-e3ca-4a32-bb23-e679485643c9-1794857191.jpeg

हमालले एभरेस्ट सकर मिटलाई आगामी दिनमा अझ व्यापक र बहुसांस्कृतिक सहभागितासहित निरन्तरता दिने लक्ष्य रहेको पनि बताए।

आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलाडी, परिवार, दर्शक, विभिन्न समुदायका प्रतिनिधि तथा फुटबलप्रेमी सबैलाई कार्यक्रममा उपस्थित भई साथ र समर्थन जनाउन आग्रह गरेको छ।

‘

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्