सिड्नी। नेपाली भाषा, साहित्य, कला, संस्कृति र सामाजिक सेवामार्फत अस्ट्रेलियामा नेपाली समुदायको पहिचान, प्रतिष्ठा र सशक्तीकरणमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरू सम्मानित भएका छन्। नइ एकेडेमी अस्ट्रेलियाले सन् २०२६ का लागि विभिन्न १४ विधामा ‘नइ एक्सिलेन्स, नइ पारिजात तथा प्राइड अवार्ड’ प्रदान गर्दै नेपाली समुदायका प्रतिभा, अभियन्ता र सामाजिक संस्थाहरूको योगदानको कदर गरेको हो।
नेपाली मौलिकता, सांस्कृतिक सम्पदाको संरक्षण, बहुसांस्कृतिक सद्भाव र सामुदायिक विकासमा समर्पित व्यक्तित्व तथा संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको एकेडेमीकी संस्थापक तथा अध्यक्ष सीमा रोशीले जानकारी दिइन्।
नइ एक्सिलेन्स अवार्ड’अन्तर्गत बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकासमा योगदान पुर्याएका डा. कृष्ण हमाल, मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी सचेतना अभिवृद्धिमा सक्रिय भरत नेपाल र नेपाली तथा अस्ट्रेलियाली समुदायको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका सञ्जीवकुमार शर्मा सम्मानित भएका छन्।
साहित्यतर्फ डा. प्रकाश पौडेललाई ‘नइ पारिजात पुरस्कार’ प्रदान गरिएको छ। सञ्चार तथा मिडियामार्फत सामुदायिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याएका डा. भरत पौडेल तथा पत्रकारिता र सांस्कृतिक सम्पदा संरक्षणमा सक्रिय आचार्य राजन शर्मालाई पनि सम्मान गरिएको छ।
मानवीय सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै मानव सेवा आश्रम अस्ट्रेलियालाई एक हजार अस्ट्रेलियन डलर राशिको ‘नइ मानवसेवा पुरस्कार’ प्रदान गरिएको छ। संस्थागत विधातर्फ पश्चिमी अस्ट्रेलियामा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा नेपाली समुदायको सशक्तीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया इन्कलाई उत्कृष्ट सामुदायिक संस्थाका रूपमा सम्मान गरिएको छ।
त्यसैगरी, ‘नइ पारिजात तथा प्राइड अवार्ड’अन्तर्गत बहुभाषिक पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षणमा योगदान पुर्याएका डा. राजु मानन्धर, सामुदायिक सेवा तथा विकासमा सक्रिय प्रकाश पौडेल र महिला सशक्तीकरण तथा नेतृत्वमा उल्लेखनीय भूमिका निर्वाह गरेकी उषाकिरण बरिया पोखरेल सम्मानित भएका छन्।
नेपाली सङ्गीत र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै गायिका निशा केसीलाई सम्मान गरिएको छ। ‘द भ्वाइस अफ नेपाल’मार्फत आफ्नो पहिचान बनाएका उदाउँदा गायक तथा सङ्गीतकर्मी तिखतारीलाई पनि पुरस्कृत गरिएको छ।
नेपाली समुदायको विकास तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका राजकुमार भण्डारी र १८ वर्षमुनिको विद्यालयस्तरीय क्रिकेट विधामा उत्कृष्ट प्रदर्शन गरेका अदीष अर्याललाई समेत सम्मान गरिएको एकेडेमीले जनाएको छ।