नेभिगेशन
अन्य

‘बन्दुकले त भएन, लाठीले के हुन्छ ?’

विराटनगर । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सभापति उम्मेदवारीका लागि बेला आएपछि घोषणा गर्ने बताएका छन् । सहमतिमा नेतृत्व हस्तान्तरण नहुने भन्दै नेता देउवाले सभापतिमा आफ्नो इच्छा देखाएका हुन् । विराटनगर विमानस्थलमा बिहीबार संवाददाताहरूसँग कुरा गर्दै देउवाले भने, ‘सभापतिमा मेरो उम्मेदवारीबारे समय आएपछि तपाईंहरूलाई भन्छु ।’ आन्तरिक सहमतिमा सभापति सुशील कोइरालालाई पुनः नेतृत्व दिने हो भन्ने जिज्ञासामा देउवाले त्यस्तो हैन मात्र भनेको छन् । महाधिवेशन जसरी पनि हुने भन्दै उनले भ्रातृ संस्थाहरूको अधिवेशन चाँडै हुने बताएका छन् । पार्टी महाधिवेशनको मिति तय भएपछि नेताहरू विराटनगर आउने क्रम तीब्र भइरहेको छ । नेपाल दुग्ध व्यवसायी संघको केन्द्रीय अधिवेशन उद्घाटन गर्न आएका देउवाले बिहीबारै जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको कार्यक्रम समेत गरेका थिए । संविधान निर्माणमा देखिएको अन्योलबारे माओवादीसँग पार्टीहरूको छलफल भइरहेको भन्दै देउवाले सहमति हुने विश्वास व्यक्त गरे । सहमति नभए प्रक्रियामा पूर्ववत प्रयास जारी रहने देउवाले बताएका छन् । ‘सहमति नभए प्रक्रियामा जाने हो,’ देउवाले भने । एमाओवादीको पछिल्लो आन्दोलनले संविधान निर्माण प्रक्रियामा असर नगर्ने उनले बताए । ‘बन्दुकले त भएन, लाठीले के हुन्छ ?’ उनले भने, ‘एमाओवादीसँग प्रधानमन्त्री आफैंले वातर्ता गरिरहनुभएको छ ।’ राज्य पुनःसंरचनामा देखिएको विवाद सहमतिबाट नै अघि बढ्ने उनले बताए । ‘सहमतिमा जाने या जनमतसंग्रह हुने भन्ने कुरा सल्लाहमा हुने हो ’ देउवाले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्