नेभिगेशन
अन्य

शान्ति सम्झौताको मर्म विपरीत जाने अधिकार कसैलाई छैनः दाहाल

काठमाडौँ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताको मर्मविपरित गएर संविधान जारी गर्ने अधिकार कोही कसैलाई नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहिवार आयोजित बलिदान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले द्वन्द्वरत पक्षको साझा दस्तावेजका रुपमा रहेको शान्ति सम्झौतालाई पालन गर्ने वा नगर्ने भन्ने विषयमा प्रस्ट पार्न नेपाली काँग्रेस र नेकपा एमालेलाई आग्रह गरे । प्रमुख दलबीच भएको बाह्रबुँदे सहमति, शान्ति सम्झौताका आधारमा नै अन्तरिम संविधान निर्माण भएकाले त्यसलाई पूर्ण पालना गर्ने कि नगर्ने भन्ने प्रश्न नै यतिखेरको संगिन प्रश्न रहेको उनको भनाई थियो । संविधान लेखन प्रक्रिया बहुमतका आधारमा अगाडि बढ्नै नसक्ने उल्लेख गर्दै अध्यक्ष दाहालले भने–‘संविधानमा सबै वर्ग तथा क्षेत्रले अपनत्व महसुस गर्नुपर्छ, एकाध दलले मात्रै बनाउने संविधानले समग्र मुलुकको प्रतिनिधित्व गर्न सक्दैन, शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता र परिवर्तनकारी शक्तिलाई बाहिर राखेर बनाइने संविधानलाई सबैले मान्नुपर्छ भन्ने छैन ।’ पछिल्लो दिनमा सत्तारूढ दलका नेतासँग अनौपचारिक संवाद भए पनि त्यसले ठोस आकार ग्रहण नगरेको जानकारी दिँदै अध्यक्ष दाहालले भने – ‘सहमति कि बहुमत भन्ने दुविधा राख्नु आवश्यक छैन, विगतको प्रतिबद्धतालाई स्मरण गर्ने मात्रै हो भने सबै कुरा प्रस्ट हुन्छ, मुलुकलाई अगाडि बढाउने कि द्वन्द्वमा धकेल्ने भन्ने कुराको निर्णय नेपाली काँग्रेस र नेकपा एमालेको कोर्टमा छ । ’ कार्यक्रममा एमाओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेले सहिद, बेपत्ता तथा अपाङ्गता भएका नागरिकको अधिकार स्थापित गर्नका लागि पनि जनपरिचालनसहितको सङ्घर्ष नै आजको आवश्यकता रहेकामा जोड दिए । एमाओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म बलिदान दिवस मनाउँदै आएको छ । विसं २०५२ फागुन १४ गते तत्कालीन सरकारले गोरखामा १४ वर्षे बालक दिलबहादुर रम्तेलको हत्या गरेको दिन र इलामको सुखानीमा झापा आन्दोलनका पाँच योद्धाको बलिदान दिएको दिनलाई जोडेर एमाओवादीले बलिदान दिवस मनाउने गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...